काठमाडौँ। किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भोलि शनिबार दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल हुँदैछ। खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ।
फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्।
पहिलो क्वालिफायरमा सुदूरपश्चिमले विराटनगरलाई ७७ रनले हराउँदै उपाधि नजिक पुगेको थियो। दुई मध्ये दोस्रो क्वालिफायरमा पनि लुम्बिनीले विराटनगरलाई ४० रनले पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गरेको हो।
गत वर्ष फाइनलमा जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि जित्ने अभियानमा छ। कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको टोलीलाई उपाधिको दाबेदार मानिएको छ।
गत संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेल नेतृत्वको लुम्बिनी यसपटक जसरी भए पनि ट्रफी हात पार्ने लक्ष्यसहित मैदानमा छ। लिग चरणमा यी दुवैबीच भएको भिडन्तमा सुदूरपश्चिमले ७ विकेटले जित हासिल गरेको थियो।
एनपिएल विजेताले रु १ करोड १० लाख, उपविजेताले रु ५१ लाख, तेस्रोले रु २५ लाख र चौथो स्थानले रु १५ लाख पुरस्कार पाउनेछन्।
नेपाल क्रिकेट सङ्घ (CAN) ले मङ्सिर १ गतेदेखि प्रतियोगिता आयोजना गरेको हो, जसमा आठ टोली सहभागी थिए।

