काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै कार जितेका छन्।
लुम्बिनी लायन्सलाई च्याम्पियन बनाउन ब्याटिङ र बलिङ दुवैमा निर्णायक योगदान पुर्याएका रोहितले पुरस्कारस्वरूप जेको जे–५ कार प्राप्त गरेका हुन्।
एनपीएल दोस्रो सिजनमा रोहितले कुल २७६ रन जोड्दै टिमको सफल यात्रामा महत्वपूर्ण भूमिका खेले। फाइनल खेलमा उनले १२ बलमा १६ रन बनाएर दबाबको अवस्थामा उपयोगी इनिङ खेलेका थिए।
त्यस्तै, सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा तीन विकेट लिँदै उनले बलिङतर्फ पनि आफ्नो प्रभाव बनाए ।
कप्तानको रूपमा रोहितको सन्तुलित नेतृत्व र निरन्तर प्रदर्शनकै कारण लुम्बिनी लायन्सले एनपीएल सिजन–२ को उपाधि उचाल्न सफल भएको हो।

