सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा हुने विदेशी चलखेल रोक्न कुनै ब्यालेस्टिक मिसाइलजस्ता आधुनिक हतियार नभई जनताको एकता, चेतना र संगठित शक्ति नै निर्णायक हुने बताएका छन्।
शनिबार कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले विदेशी हस्तक्षेप रोक्ने क्षमता सैन्य अस्त्र–शस्त्रमा होइन, जनशक्तिमा निहित रहेको स्पष्ट पारे।
‘कतिपय विदेशी शक्तिहरूको चलखेल हुन्छ नै,’ प्रचण्डले भने, ‘तर हामीसँग ब्यालेस्टिक मिसाइल प्रयोग गरेर विदेशी चलखेल रोक्ने तागत छैन। हाम्रो मुख्य शक्ति भनेको जनताको तागत, जनताको एकता र जनताको चेतना हो।’
उनले पछिल्लो समय चर्चामा रहेको युवाहरूको ‘जेन–जी’ आन्दोलनले राजनीतिक दल र पुराना नेतृत्वलाई गम्भीर चुनौती दिएको उल्लेख गर्दै त्यसलाई आफूले सकारात्मक रूपमा लिएको बताए। जेन–जीले दिएको ‘सच्चिने कि सक्किने’ चेतावनीलाई आत्मसमीक्षाको अवसरका रूपमा लिएको उनको भनाइ थियो।
‘जेन–जी आन्दोलनले हामी पार्टी र नेताहरूलाई चुनौती दियो,’ उनले भने, ‘मैले त उनीहरूलाई धन्यवाद नै दिएँ—तपाईंहरूले हामीलाई सच्याउने मौका दिनुभयो।’
प्रचण्डले जेन–जी युवामाथि सरकारले गरेको दमन गलत भएको टिप्पणी गर्दै युवाहरूले उठाएका धेरैजसो मागहरू आफ्नो पार्टीको एजेन्डासँग मेल खाने दाबी गरे। उनले भने, ‘अहिले हजारौँ जेन–जी युवाहरू हामीसँग जोडिनुभएको छ। उहाँहरूले हाम्रो अभिभावक प्रचण्ड नै रहेछ भन्नु भएको छ।’
नेपाली कम्युनिस्ट पार्टीतर्फ जनसमर्थन केन्द्रित हुँदै गएको देखेर केही शक्ति आत्तिएको दाबी गर्दै प्रचण्डले पार्टीले आत्मसमीक्षा गर्दै तल्लो तहसम्म पुगेर संगठन विस्तार गरेकाले अहिले देशभर उत्साहको वातावरण बनेको बताए।

