काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली आज बिहीबार सार्वजनिक गर्ने कार्यतालिका रहेको छ। निर्वाचन आयोगका अनुसार मनोनयन दर्ता भएका उम्मेदवारविरुद्ध परेको उजुरीमाथि जाँचबुझ गरी आवश्यक निर्णयपछि नामावली प्रकाशन गरिनेछ।
आयोगले बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने जनाएको छ। मनोनयन दर्ता भएका उम्मेदवारमध्ये पाँच जनाविरुद्ध उजुरी परेको आयोगले जनाएको छ। भक्तपुर, सुनसरी, रौतहट र कैलालीका उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको हो।
यसैगरी माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने सोही दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।
आयोगका अनुसार हाल प्रतिनिधि सभा निर्वाचनका लागि १६५ सांसदका लागि तीन हजार ४८६ जनाको उम्मेदवारी दर्ता भएको छ।
जसमध्ये तीन हजार ८९ जना पुरुष, ३९६ जना महिला र एक जना तेस्रोलिङ्गी उम्मेदवार रहेका छन्।

