शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १६औं वार्षिक साधारणसभाले थानेश्वर पौडेललाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ। शुक्रबार सम्पन्न साधारणसभाले संस्थापक सेयरधनीतर्फबाट थानेश्वर पौडेल, इन्जिनियर सुरज उप्रेती, र व्यवसायी वीरेन्द्र भुसाललाई सञ्चालकमा निर्वाचित गरेको हो।
यस्तै, सर्वसाधारण सेयरधनीतर्फबाट वीरेन्द्र विष्ट, नम्रता भण्डारी, र डा. हिमाल भट्टराई सञ्चालकमा निर्वाचित भएका छन्। स्वतन्त्र सञ्चालकका रूपमा प्राध्यापक गोपाल पाण्डे यसअघि नै निर्वाचित भएका थिए।
साधारणसभा पछि बसेको सञ्चालक समितिको बैठकले थानेश्वर पौडेललाई पुनः अध्यक्षमा चयन गरेको कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश पौडेलले जानकारी दिए।
बैंकको सञ्चालक समितिमा डा. हिमाल भट्टराई र वीरेन्द्र भुसाल नयाँ अनुहारका रूपमा रहेका छन् भने अन्य सदस्यहरू पुरानै हुन्।
नवनिर्वाचित अध्यक्ष पौडेलले सहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रमा पनि बैंकिङ सेवा पुर्याउने लक्ष्यसहित पहाडी जिल्लामा शाखा विस्तार गर्ने र डिजिटल बैंकिङलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आफ्नो सेवा विस्तारलाई सुदृढ गर्दै सहरी र ग्रामीण क्षेत्रका ग्राहकलाई आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ।

