एनआईसी एशिया बैंक लिमिटेडले आज (चैत २५ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ। बैंकले १० वर्ष अवधिको ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो, जसमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान गरिनेछ।
बैंकले कुल ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र जारी गर्नेछ, जसको प्रतिकित्ता अंकित मूल्य १ हजार रुपैयाँ तोकिएको छ। यसमध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणका लागि उपलब्ध हुनेछ। सर्वसाधारणका लागि छुट्याइएको हिस्सामा ५ प्रतिशत अर्थात् १ लाख कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरिएको छ।
लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम २५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। यो ऋणपत्रको निष्काशन चैत २८ गते छिटोमा बन्द हुनेछ भने माग कम भएमा ढिलोमा २०८२ बैशाख ८ गतेसम्म खुला रहनेछ।
बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले लिएको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु, तिनका तोकिएका शाखाहरु र ‘मेरो शेयर’ अनलाइनमार्फत सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्।
इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले बैंकलाई ‘आईआरएन इस्यूअर रेटिङ्ग ट्रिपल बी प्लस’ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्न मध्यम सुरक्षित रहेको संकेत गर्छ। यो ऋणपत्रबाट आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्तिपछि कर कट्टा गरी भुक्तानी गरिनेछ।
एनआईसी एशिया बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरुमध्ये एक हो र यसको यो कदमले लगानीकर्ताहरुलाई आकर्षक अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

