काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीबीच एकताका लागि तयारी तीव्र बनेको छ।
दुवै दलका कार्यदलबीच हाल छलफल जारी रहेको बताइएको छ। स्रोतका अनुसार बालुवाटारमा आइतबार तीन चरणमा दुवै पार्टीका प्रतिनिधिबीच छलफल भएको थियो भने अन्तिम चरणको छलफलमा कार्यदल जुटेको स्रोतको दाबी छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग सहमति हुन नसकेपछि घिसिङले प्रगतिशील लोकतान्त्रिक पार्टीसँग एकताका लागि कसरत थालेका हुन्।
यसअघि विभिन्न चरणमा छलफल भए पनि लामिछाने र साहबीच सहमति जुटेपछि घिसिङ अलग भएका थिए। लामिछाने र साहबीच आइतबार बिहान सात बुँदे सहमति भएको थियो ।

