काठमाण्डौ । शीतलहरसँगै अत्यधिक जाडो बढेपछि सप्तरीका दुई स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्।
जिल्लाको राजगढ गाउँपालिकाले अत्यधिक चिसो र शीतलहरका कारण बालबालिकाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आइतबारदेखि एक हप्ता (१८ गतेसम्म) विद्यालय बन्द गर्ने निर्णय गरेको छ। उक्त बिदा बर्से तथा हिउँदे बिदामा मिलान हुने गरी दिइएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष रेणुदेवी मण्डलले जानकारी दिइन्।
यस्तै, डाक्नेश्वरी नगरपालिकामा पनि प्रशासनिक कार्यबाहेक नियमित पठनपाठन बन्द रहने गरी बिदा दिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार मण्डलले आइतबार जारी गरेको सूचनाअनुसार आज सोमबारदेखि लागू हुने गरी पाँच दिनका लागि बिदा दिइएको हो।
नगरपालिकाअन्तर्गतका सबै सामुदायिक तथा निजी विद्यालयमा उक्त बिदा लागू हुने जनाइएको छ।
केही दिनयता बढेको अत्यधिक जाडोका कारण सप्तरीसहित तराई–मधेसका विभिन्न जिल्लामा जनजीवन प्रभावित भएको छ।

