काठमाडौं, असार २ ।
सुनचाँदी व्यवसायमा सरकारले लागू गरेको विलासिता कर (Luxury Tax) र मूल्य अभिवृद्धि कर (VAT) लगायतका विषयमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सहितका पदाधिकारीहरूसँग व्यवसायीहरूले भेटघाट तथा छलफल गरेका छन्।
नेपाल सुनचाँदी व्यवसायी संघका प्रतिनिधिमण्डलले महासङ्घका अध्यक्ष चन्द्र ढकालसहित अन्य पदाधिकारीहरूसँग भेट गर्दै हाल लागू गरिएको कर नीति व्यवसायीमाथि अन्यायपूर्ण भएको बताएका छन्।
उनीहरूले सुनमा २% विलासिता कर र हिरामा १३% भ्याटको विरोध गर्दै यस्तो करले व्यवसाय तहसनहस भएको, उपभोक्तामा समेत नकारात्मक असर परेको बताएका छन्।
भेटमा महासङ्घ अध्यक्ष ढकालले व्यवसायीहरूको चासोलाई गम्भीरतापूर्वक लिने बताएका थिए। साथै, महासङ्घ सधैँ निजी क्षेत्रको हितमा नीति निर्मातासँग संवाद गर्ने जिम्मेवारीमा प्रतिबद्ध रहेको बताए।
छलफलमा कर प्रणालीलाई व्यवसायमैत्री बनाउने, कालोबजारी नियन्त्रण गर्ने र पारदर्शिता कायम गर्ने उपायबारे समेत विचार आदानप्रदान भएको थियो।
सुनचाँदी व्यवसायीहरूले यसअघि पनि काठमाडौंमा विरोध प्रदर्शन र र्यालीमार्फत आफ्ना मागहरू राख्दै आएका छन्। उनीहरूको माग छ– सुनचाँदीजस्तो अत्यावश्यक र सांस्कृतिक सम्पर्क जोडिएको व्यवसायलाई विलासिताको वस्तु मानेर कर लगाउनु अनुचित हो।
महासङ्घले सरकारसँग यथाशक्य चाँडो वार्ता पहल गर्ने प्रतिबद्धता जनाएको छ।

