ललितपुरको ग्वार्कोस्थित बहुप्रतीक्षित फ्लाईओभर अब केही दिनमै सञ्चालनमा आउने भएको छ। सडक विभागका अनुसार प्रमुख संरचना निर्माण कार्य सम्पन्न भइसकेको छ भने सवारीसाधन सञ्चालनको अन्तिम तयारी तीव्र गतिमा भइरहेको छ। विभागले आगामी चार दिनभित्र फ्लाईओभर सञ्चालनमा ल्याउने तयारी गरिरहेको जनाएको छ।
दैनिक भीडभाड र ट्राफिक जामको समस्याबाट जुझिरहेको ग्वार्को क्षेत्रलाई सहज बनाउन निर्माण गरिएको यो फ्लाईओभर राजधानी उपत्यकाको प्रमुख पूर्वाधार परियोजनामध्ये एक मानिएको छ। फ्लाईओभर सञ्चालनमा आएपछि ललितपुर र भक्तपुरतर्फको आवागमन थप सहज हुने विश्वास लिइएको छ।
निर्माण अवधिभर विभिन्न प्राविधिक चुनौती र समयावधिको कारण केही ढिलाइ भए पनि अन्ततः संरचना सम्पन्न भएको सडक विभागले जानकारी दिएको छ। अब सवारी साधन सञ्चालनका लागि आवश्यक चिन्ह, सिग्नल र सुरक्षाका उपायहरु जडान भइरहेको बताइएको छ।
स्थानीय बासिन्दा तथा सवारी चालकले फ्लाईओभर सञ्चालनमा आउने खबरलाई सकारात्मक रुपमा लिएका छन्। उनीहरूले ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार आउने आशा व्यक्त गरेका छन्।
