काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले पाँचौँ जितासँगै आफ्नो अपराजित यात्रालाई धमाकेदार रूपमा जारी राखेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै सुदूरपश्चिम १२ अंकका साथ शीर्ष स्थानमा उभिएको छ।
१७० रनको चुनौती पछ्याएको चितवन १७.१ ओभरमै १२० रनमा समेटिँदा ‘प्लेअफ’ सम्भावना जोगाउन परेको दबाब झेल्न सकेन। उसका ब्याटरहरू एकपछि अर्काे धरासायी हुँदा रवि बोपारा (२९) र देव खनाल (२८) ले मात्र केही चुनौती दिन सके। अर्जुन साउँदले १६ र कुशल मल्लले १५ रन जोडे पनि अन्य ब्याटर दोहोरो अंकमा पुग्न असफल भए।
सुदूरपश्चिमका बलरले आज प्रभावशाली प्रदर्शन गरे। पुनित मेहराले ३ विकेट लिए भने दीपेन्द्र सिंह ऐरी, हिक्मत महरा, अभिनाश बोहरा र इशान पाण्डेले एक–एक विकेट जोडे। तीन जना चितवनका खेलाडी रनआउट भए।
यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ओपनर क्रिस लिनको शानदार अर्धशतकका आधारमा २० ओभरमा ४ विकेट गुमाएर १६९ रन जोड्यो। लिन ५६ बलमा ७५ रन बनाएर ‘रिटायर्ड हर्ट’ हुनुभन्दा अघि ३ छक्का र ५ चौका प्रहार गर्दै चम्किए।
ओपनर विनोद भण्डारीले २१ रन योगदान दिए। पुनित मेहराले १३, हर्मित सिंहले १ रन बनाए। अन्त्यतिर आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले समान २४–२४ रन जोडेर स्कोर सम्मानजनक बनाए।
चितवनका लागि सैफ जाइबले २ विकेट लिए भने जर्ज स्क्रिमस र रञ्जित कुमारले एक–एक विकेट हात पारे।

