२ असार २०८२, काठमाडौं
हीरा, बहुमूल्य रत्न र सुनमा लगाइएको मूल्यअभिवृद्धि कर (VAT) तथा विलासिता करको निर्णयले देशको सुनचाँदी व्यवसाय प्रभावित हुने भन्दै नेपाल रत्न तथा आभूषण संघले सरकारलाई यसबारे पुनर्विचार गर्न आग्रह गरेको छ।
संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी आर्थिक वर्षको बजेटमा हीरा तथा बहुमूल्य पत्थरमा VAT र सुनमा दुई प्रतिशत विलासिता कर लगाउने सरकारी प्रस्तावप्रति आपत्ति जनाउँदै व्यवसाय नै संकटमा पर्न सक्ने चेतावनी दिएको हो।
संघका अध्यक्ष सुमनमान ताम्राकारका अनुसार हाल देशभर झन्डै २५ हजार सुनचाँदी व्यवसायी क्रियाशील छन्, जसमा करिब ३ लाख कालिगढ र तिनका परिवार आश्रित छन्। “करको यस्तो बोझले न केवल व्यवसाय बन्द हुने सम्भावना छ, लाखौं परिवारको रोजगारी समेत गुम्न सक्छ,” ताम्राकारले भने।
संघका अनुसार हाल सुनचाँदी तथा रत्न आभूषण क्षेत्रबाट मात्र राज्यले वार्षिक २० अर्ब रुपैयाँ राजस्व संकलन गर्दै आएको छ। यस्तो अवस्थामा अतिरिक्त करले बजारको प्रतिस्पर्धात्मकता घटाउने, तस्करी बढाउने र राजस्व नै घटाउने सम्भावना औंल्याइएको छ।
संघले सरकारसँग यस्ता नीतिगत निर्णय गर्दा व्यवसायीहरूसँग पूर्वपरामर्श गर्नुपर्ने र वैकल्पिक उपायमार्फत राजस्व वृद्धि गर्ने रणनीति खोजिनुपर्ने आग्रह गरेको छ।
उद्योगमैत्री नीति निर्माण गर्दै वैध व्यवसायको संरक्षण गरिनुपर्नेमा जोड दिँदै संघले चाँडै उचित निर्णय नआए कडा विरोधका कार्यक्रम सञ्चालन गर्ने चेतावनी समेत दिएको छ।

