काठमाडौँ, असार १२ – नेपाल सरकारद्वारा आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनचाँदी तथा बहुमूल्य रत्नजडित गहनामा लगाइएको अव्यवहारिक कर व्यवस्था खारेजीको माग गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले संयुक्त रूपमा देशभर अनिश्चितकालीन व्यवसाय बन्दको घोषणा गरेका छन्।
दुवै महासंघद्वारा मंगलबार जारी संयुक्त विज्ञप्तिमा आगामी असार १३ गतेदेखि देशभरका सम्पूर्ण सुनचाँदी पसल, कलाकृति निर्माण केन्द्र, कारखाना तथा थोक र खुद्रा व्यवसायहरू पूर्ण रूपमा बन्द गरिने जनाइएको छ। साथै, आम व्यवसायीहरूलाई काठमाडौं लगायत देशका प्रमुख सहरमा आयोजना गरिने विरोध सभा तथा आन्दोलनमा सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ।
महासंघद्वयले सरकारले व्यवसायीहरूको आवाज नसुनेको, पटक–पटक वार्ताका प्रयास निष्फल भएको र मागहरू बेवास्ता गरिएकाले बाध्य भएर संघर्षको कठोर रूप रोज्नुपरेको बताएका छन्। महासंघका अनुसार, बजेटमा उल्लेख भएको २ प्रतिशत विलासिता शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि करले साना तथा मध्यम व्यवसायीहरू विस्थापित हुने अवस्था सिर्जना भएको छ।
महासंघले भनेको छ, “हामी व्यवसायीहरू कर तिर्नै नमान्ने पक्षमा होइनौँ, तर असमान, गैर व्यावहारिक र विनापूर्वतयारी लागू गरिएका कर नीतिहरूले व्यवसाय धरासायी बनाउने भएकाले हाम्रो यो आन्दोलन स्वाभाविक हो।”
विरोधका कार्यक्रम क्रमशः अझ कडा बन्दै लैजाने चेतावनी पनि महासंघले दिएको छ। आन्दोलनको अर्को चरणमा आमरण अनशन, विरोध ¥याली र सिंहदरबार घेराउजस्ता कार्यक्रमसमेत तय गरिने जनाइएको छ।
सरकारले चाँडै यथोचित समाधान नगरे आन्दोलन थप चर्किने भन्दै महासंघले उपभोक्ता, व्यवसायी, कर्मचारी र सबै सरोकारवालाहरूलाई आन्दोलनप्रति ऐक्यबद्धता जनाउन अनुरोध गरेका छन्।

