काठमाडौं, असार १९ – नेपाल सुनचाँदी कला व्यवसायी संघले सुन र बहुमूल्य पत्थरमा लगाइएको कर तथा भ्याटको विरोधमा आयोजना गर्न लागेको विरोध र्यालीमा सबै सदस्यहरूको अनिवार्य उपस्थितिका लागि संघले अपिल गरेको छ।सरकारले हालै सार्वजनिक बजेटमार्फत सुनमा २ प्रतिशत विलासिता कर र बहुमूल्य पत्थर तथा हिरामा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेको छ। संघका अनुसार, यस्तो करले सुनचाँदी व्यवसाय मात्र होइन, आम जनताको पहुँचमा समेत असर पार्नेछ।
संघले एक सूचना जारी गर्दै भोलि मिति २०८२ साल असार २० गते शुक्रबार बिहान ११ बजे माईतीघर मण्डलामा हुने विरोध र्यालीमा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रुपमा उपस्थित हुन अनुरोध गरेको छ। संघले उपस्थिति अनिवार्य गरिएको र अनुपस्थित सदस्यहरूलाई तीन हजार रुपैयाँ जरिवाना लाग्ने स्पष्ट पारेको छ।
संघले विरोध र्यालीको सहजताका लागि सवारी साधनको पनि व्यवस्था गरिएको जानकारी दिएको छ। संघले करका कारण व्यवसाय प्रतिकूल भएको भन्दै दबाबमूलक कार्यक्रमलाई प्रभावकारी बनाउन सबैको सक्रिय सहयोग अपेक्षा गरेको छ।

