काठमाडौं। नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघले सुनमा लगाइएको विलासिता कर खारेज गर्न सरकारसँग माग गरेको छ। महासंघका प्रतिनिधिले मंगलबार अर्थमन्त्री रामेश्वर खनाललाई भेट गरी करका कारण आम उपभोक्ता र व्यवसायी दुवै मारमा परेको भन्दै तत्काल पुनरावलोकन गर्न आग्रह गरेका हुन्।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ पुगेको छ। यस्तो अवस्थामा एक तोला सुन खरिद गर्दा उपभोक्ताले ५ हजार ३ सय ४४ रुपैयाँ विलासिता कर तिर्नुपर्दा सामान्य ग्राहकसमेत प्रभावित भएको महासंघको भनाइ छ।
महासंघका अध्यक्ष किसान सुनारले विवाह, व्रतबन्धजस्ता सामाजिक कार्यका लागि थोरै सुन किन्ने सर्वसाधारणलाई समेत विलासिता करले थिचेको बताए। उनका अनुसार विगतमा जस्तै १० लाख रुपैयाँभन्दा माथिको कारोबारमा मात्रै विलासिता कर लागू गर्नुपर्ने आवश्यकता छ।
महासंघले सुन तथा हिराको कारोबारमा लगाइएको १३ प्रतिशत भ्याट र २ प्रतिशत विलासिता करसम्बन्धी व्यवस्था तत्काल स्थगित गर्दै आगामी वर्ष अनिवार्य रूपमा खारेज गर्न माग गरेको छ। यसका लागि सम्बन्धित कानुन संशोधन गर्नुपर्नेमा महासंघले जोड दिएको छ।
त्यसैगरी, वैदेशिक रोजगारीबाट फर्किएका नेपालीले झिटी–गुन्टामार्फत ल्याउने सुन तथा गहनाको परिमाण बढाउने, पुराना गरगहना खरिदलाई व्यवस्थित गर्ने कार्यविधि बनाउने र छिमेकी मुलुकको भन्सार दरअनुसार सुनचाँदीको भन्सार महसुल समायोजन गर्नसमेत महासंघले सुझाव दिएको छ।

