काठमाडौँ —निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह तथा सुझावका लागि सार्वजनिक गरेको छ । स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचन सुनिश्चित गर्ने उद्देश्यसहित आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम आयोगले आचारसंहिताको मस्यौदा सार्वजनिक गर्दै सरोकारवाला पक्षसँग सुझाव माग गरेको हो । मस्यौदामा निर्वाचन प्रक्रियामा पारदर्शिता, मितव्ययिता र निष्पक्षता कायम गर्ने व्यवस्था समेटिएको छ ।
आचारसंहितामा १० परिच्छेद र पाँच अनुसूची समावेश छन् । नयाँ आचारसंहिता लागू भएसँगै निर्वाचन आचारसंहिता–२०७९ खारेज हुने आयोगले जनाएको छ । आचारसंहिता उल्लङ्घन गर्ने व्यक्ति वा संस्थाको नाम सार्वजनिक गर्ने व्यवस्था मस्यौदामा गरिएको छ ।
त्यसैगरी निर्वाचन प्रचार–प्रसारका क्रममा विद्युतीय माध्यम तथा सूचना प्रविधिको प्रयोग गर्न सकिने, राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि आचारसंहितामा समेटिएको छ ।
निर्वाचन आयोगले आचारसंहिताको मस्यौदामाथि प्राप्त सुझावका आधारमा अन्तिम रूप दिई लागू गरिने जनाएको छ ।

