काठमाडौँ, असार ११ गते।
नेपाल सरकारद्वारा आर्थिक वर्ष २०८२/८३ को बजेटमा प्रस्तुत गरिएका अव्यवहारिक कर नीतिहरूको विरोधमा सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले संयुक्त रूपमा चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन्।
महासंघहरूले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सुनचाँदी, हिरा, जवाहरात तथा हस्तकला व्यवसायमा लगाइएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट)प्रति कडा आपत्ति जनाएका छन्। उक्त करहरूले व्यवसायी तथा उपभोक्तामा अतिरिक्त आर्थिक भार पर्ने भन्दै तत्काल खारेज गर्न सरकारसँग माग गरिएको छ।
आन्दोलनका कार्यक्रमहरू सार्वजनिक
महासंघहरूले असार १३ गते देशभरका सबै सुनचाँदी व्यवसाय बन्द गरी जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन्। विशेष रूपमा बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा भव्य र्यालीसहित विरोधसभा आयोजना गरिनेछ।
त्यसपछि, साउन १ गतेदेखि माग सम्बोधन नभए देशभरका सम्पूर्ण सुनचाँदी पसल अनिश्चितकालीन रुपमा बन्द गरिने चेतावनी दिइएको छ।
सचेतना र जनदबाब मूलक कार्यक्रमहरू सञ्चालन
आन्दोलनको स्वरूपलाई शालीन र सशक्त बनाउन महासंघहरूले विविध रचनात्मक कार्यक्रमहरू पनि सञ्चालन गर्ने जनाएका छन्। जसअनुसार, नारा लेखिएका ब्यानर, कालो झण्डा प्रदर्शन, हातमा कालो पट्टी बाँध्ने अभियान सञ्चालन हुनेछ। साथै, पम्प्लेट वितरणमार्फत व्यवसायी तथा उपभोक्ताहरूलाई कर नीतिका असरबारे सचेत गराइनेछ।
त्यसैगरी, व्यवसायीहरूका लागि अभिमुखीकरण कार्यक्रम, आन्दोलन तयारी सर्वेक्षण तथा स्थानीय जनप्रतिनिधिहरूसँग प्रत्यक्ष छलफलमार्फत जवाफदेहिता माग्ने कार्यक्रमहरू पनि सञ्चालन गरिनेछ।
सरकारप्रति आग्रह
महासंघहरूले अव्यवहारिक कर नीतिको पुनर्विचार गर्दै व्यवसायमैत्री नीति अवलम्बन गर्न सरकारलाई आग्रह गरेका छन्। “यदि सरकार जनताको आवाज सुन्न तयार भएन भने बाध्यात्मक रूपमा कडा आन्दोलनमा जानुपर्ने परिस्थिति आउनेछ,” विज्ञप्तिमा उल्लेख छ।
सुनचाँदी व्यवसायीहरूले मुलुकको पुरानो र परम्परागत व्यवसायलाई दबाब दिने नीतिविरुद्ध एकताबद्ध भएर संघर्ष गर्न सबै व्यवसायीलाई आह्वान गरेका छन्।

