२०८२ असार १६ गते, ललितपुर
अव्यवहारिक कर प्रणालीविरुद्ध संयुक्त महासंघद्वारा आह्वान गरिएको चरणबद्ध आन्दोलन अन्तर्गत ललितपुरमा संयुक्त ¥याली तथा कोणसभा सम्पन्न भएको छ।
ललितपुर रत्न तथा आभूषण संघ र ललितपुर सुनचाँदी व्यवसायी संघको संयुक्त संयोजनमा आयोजित उक्त कार्यक्रममा उपत्यकाभित्रका विभिन्न संघ–संस्थाहरूको ब्यानर सहित उल्लेखनीय व्यवसायीहरूको सक्रिय सहभागिता देखिएको थियो।
र्याली ललितपुरको प्रमुख व्यापारिक क्षेत्रहरूमा परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो। कोणसभामा बोल्ने वक्ताहरूले सरकारले लागू गरेको मूल्य अभिवृद्धि कर (भ्याट) लगायतका कर व्यवस्थाहरू व्यवसायमारा भएको भन्दै तीव्र विरोध जनाए। उनीहरूले सरकारसँग तत्काल कर संरचना पुनरावलोकन गर्न र व्यवसायमैत्री नीति अवलम्बन गर्न माग गरे।
संयुक्त महासंघले हालैका दिनहरूमा चरणबद्ध रूपमा देशभर विभिन्न स्थानमा आन्दोलन चर्काइरहेको छ। व्यापारीहरूले मूल्य वृद्धि, उपभोक्तामाथिको भार र व्यवसायमा परेको प्रतिकूल प्रभावको विरोधमा आवाज उठाउँदै आएका छन्।
कार्यक्रममा सहभागी व्यवसायीहरूले सरकारले माग सम्बोधन नगरेमा आन्दोलन अझ तीव्र पारिने चेतावनी पनि दिएका छन्।

