काठमाडौं, असार २४ –
नेपाल सरकारद्वारा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत लागू गरिएको अव्यावहारिक कर संरचनाले सुनचाँदी व्यवसायमा गम्भीर असर पार्ने भन्दै नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त अन्तर्क्रिया कार्यक्रम आयोजना गरेका छन्।
मंगलबार काठमाडौंमा सम्पन्न उक्त अन्तर्क्रियामा सहभागी व्यवसायी, सरोकारवाला र संघ संस्थाका प्रतिनिधिहरूले बजेटमार्फत लागू गरिएका कर नीतिहरू व्यवसायमैत्री नभएको स्पष्ट पारेका छन्। उनीहरूले करका नाममा व्यवसायमा अनावश्यक बोझ थोपारिएको र त्यसले दीर्घकालीन रूपमा सुनचाँदी क्षेत्रमा संकट उत्पन्न गर्ने चेतावनी दिएका छन्।
कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष किसान सुनारले भने, “व्यवसाय टेवा दिने नीति आउनुपर्नेमा उल्टै करको भार थपिएको छ, जसले व्यवसायीलाई धपाएको छ।” उनले सरकारसँग संवादमार्फत समाधान खोज्ने तर माग सुनुवाइ नभए आन्दोलनका कार्यक्रम थप सशक्त बनाउने चेतावनी पनि दिए।
सो अवसरमा आभूषण व्यवसायसँग प्रत्यक्ष सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले अहिलेको कर संरचनाले व्यवसाय गर्ने वातावरण झनै कठिन बनाएको र बजारमा यसको नकारात्मक प्रभाव देखिन थालिसकेको धारणा राखे।
कार्यक्रममा सहभागीले कर घटाउन, नीति संशोधन गर्न र व्यवसायीको आवाजलाई सुन्न सरकारलाई आग्रह गरे।
संयुक्त कार्यक्रमले सुनचाँदी व्यवसायलाई संकटबाट जोगाउन सरकारले चाँडै पुनर्विचार गर्नुपर्ने निष्कर्ष निकाल्दै, आवश्यक परे चरणबद्ध दबाबमूलक कार्यक्रम अघि बढाउने निर्णयसमेत गरेको छ।

