काठमाडौँ, असार २४ –
चीनको तिब्बतबाट आएको बाढीका कारण रसुवा जिल्लामा उत्पन्न भएको प्राकृतिक विपत्तिपछि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ८ नं. व्यूरोले उद्धार तथा राहतमा सक्रिय भूमिका निर्वाह गर्न सरकारसँग जोडदार माग गरेको छ।
८ नं. व्यूरोका सेक्रेटरी सरोजले असार २४ गते एक प्रेस वक्तव्य जारी गर्दै बाढीमा परी वेपत्ता भएका नागरिकप्रति गहिरो समवेदना प्रकट गरेका छन् र उनीहरुको यथाशक्य छिटो उद्धार गर्न सरकारलाई आह्वान गरेका छन्।
वक्तव्यमा चीन–नेपाल सीमा क्षेत्रको मितेरी पुल पूर्णरूपमा क्षतिग्रस्त भएको, कन्टेनर तथा हेभी गाडी बगाएको, भन्सार कार्यालय र रसुवागढी हाइड्रोपावरको ड्याममा ठूलो क्षति पुगेको उल्लेख छ। यस्तै, १८ जना व्यक्तिहरु वेपत्ता भएको जनाउँदै पार्टीले घटनालाई गम्भीर रुपमा लिएको जनाएको छ।
सेक्रेटरी सरोजले पार्टीका सम्पूर्ण पङ्क्ति, नेता तथा कार्यकर्तालाई उद्धार तथा राहतमा खटिन अपिल गरेका छन्। साथै, त्रिशुली नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सरकारले उक्त क्षेत्रका नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्न समेत माग गरिएको छ।
वक्तव्यमा मौसम पूर्वानुमान महाशाखाले अत्यधिक वर्षाको पूर्वानुमान गरिसकेको जनाउँदै, छिमेकी चीनको तिब्बत क्षेत्रमा हिमाल फुट्न सक्ने सम्भावनाले भोटेकोशी र त्रिशुली नदीमा जुनसुकै बेला पनि पानीको बहाव तीव्र हुन सक्ने भन्दै स्थानीयलाई सचेत रहन अपिल गरिएको छ।
पार्टीले सरकारलाई प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण तथा पीडितको तत्काल उद्धार र राहत सुनिश्चित गर्न प्रभावकारी उपाय अवलम्बन गर्न अनुरोध गरेको छ।

