काठमाडौं, असार २५
इजरायलद्वारा प्यालेस्टाइनमाथि भइरहेका आक्रमणको विरोधमा असार २७ गते काठमाडौंमा विरोध प्रदर्शन हुने भएको छ। देशमा सक्रिय १४ राजनीतिक दल र समूहहरूको आयोजनामा उक्त प्रदर्शन हुने हो।
असार २४ गते बसेको संयुक्त बैठकले शान्तिवाटिकाबाट सुरु हुने विरोध ¥यालीको कार्यक्रम तय गरेको हो। दिउँसो २ बजे शान्तिवाटिकामा भेला भई जमल, घण्टाघर, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनीमार्गमा विरोध ¥यालीसहित सभा गरिने आयोजकहरूले जनाएका छन्।
विरोध सभालाई १२ दल र २ अभियान समूहका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। बैठकमा सहभागी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य दिनेश शर्माले हाँक टुडेलाई जानकारी दिएअनुसार सहभागी दल तथा समूहहरूमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (ऋषिकट्टेल), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेपाल कम्युनिष्ट पार्टी (विप्लव), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी नेपाल, नेपाल समाजवादी पार्टी, समता समाजवादी पार्टी, राजनीतिक संवाद थालनी र देशभक्त समाजवादी स्कूल रहेका छन्।
विरोध प्रदर्शनमा प्रयोग गरिने नाराहरू:
विश्व साम्राज्यवाद – मुर्दावाद !
साम्राज्यवादी युद्ध – बन्द गर !
प्यालेस्टाइनमाथिको नरसंहार – मुर्दावाद !
इजरायली फासीवाद – मुर्दावाद !
इरानको सार्वभौमिकताको – रक्षा गर !
विश्व शान्ति – कायम गर !
प्यालेस्टाइनी सार्वभौमिकताको रक्षा गर !
राष्ट्रिय स्वाधिनताको रक्षा गरौं !
संयुक्त राष्ट्रसंघको वडापत्र – पालना गर !
प्यालेस्टाइनमाथिको आक्रमण – बन्द गर !
असंलग्न परराष्ट्र नीति लागू गर !
उक्त विरोध कार्यक्रममार्फत आयोजकहरूले साम्राज्यवादी हस्तक्षेपको अन्त्य र प्यालेस्टाइनको पक्षमा अन्तर्राष्ट्रिय एकता कायम गर्नुपर्ने माग अघि सार्ने जनाएका छन्।

