तोमनाथ उप्रेती
रक्तको नदी बगेको छ,
धर्मको नाममा, सभ्यताको छातीमा,
जुन आँसु बनेर झर्छ निर्दोष आँखाबाट,
त्यो आँसु शुद्ध हुन्छ, शीतल हुन्छ,
तर त्यो आँसु, रगतजस्तो रातो किन हुन्छ?
आकाशझैँ विशाल करुणा लिएर आएका देवता,
रुद्राक्षका आँसुमा करुणा टाँसेर हिँडेका सन्तहरू,
के उनीहरूले रगत माग्छन्?
कि माया माग्छन्?
सत्यको दीप ज्वलाउने शपथ माग्छन्?
पशुबलिको कुखुरी, खुकुरी र तरवार,
मोह, मद, लोभको कालो बादल झैँ छायाँ पसारेर,
निर्दोष प्राणको गला थिच्छ,
कायरताको काँडाले आस्थाको फूलहरू छेड्छ,
के यही हो धर्मको परिभाषा?
देवता त सूर्यझैँ उज्याला,
शितल चन्द्रमाजस्तै शान्त,
ममताको मुटु, करुणाको सागर,
उनीहरूले रक्तको कण होइन,
सच्चा हृदयको स्पर्श खोज्छन्।
मृत्युको किनारमा उभिएर,
जीवनलाई साक्षी राखी चिच्याउँछ आत्मा:
“शास्त्रको स्वर, उपनिषद्को उन्माद, गीताको गुञ्जन,
सबैमा एकै मन्त्र गुन्जन्छ— अहिंसा परम धर्म।”
बलिको रगत, आत्माको आर्तनादसँग मिलेर,
धर्मको दरबारमा न्याय खोज्छ,
आकाश फाटेझैँ आवाज उठ्छ—
“करुणा नै शक्ति, प्रेम नै पराक्रम।”
कुन देवीले मागिन् रगतको कण?
कुन देवताले मागे निर्दोषको प्राण?
बलिको रगत, फूलझैँ सुगन्धित कहिल्यै भएन,
त्यो त कालको कर्कश हाँसो बनेर,
सभ्यताको कानमा कराउँदै रहन्छ।
आज तिमी उठ, आत्मामा दीप जलाऊ,
हातमा फूल लिऊ, ममता लिऊ, प्रेम लिऊ,
करुणाको स्वरले भज, मन्त्र पढ,
रगत होइन, मायाका पात चढाऊ,
मासुको गन्ध होइन, फूलको सुवास चढाऊ।
देवता हाँस्नेछन्,
धर्म झुल्किनेछ,
सभ्यता नाच्नेछ,
शान्तिको सुगन्धले समाज सुगन्धित हुनेछ।
यो धर्मको यात्रा,
करुणाको करिश्मा,
अहिंसाको आकाश,
हाम्रो हृदयको हार्मोनियममा बजिरहनेछ।
(रतुवामाई, ५ मोरङ¬)

