काठमाडौं, असार २५
प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिविको रिक्त उपकुलपतिमा प्रा. डा. दीपक अर्याललाई नियुक्त गर्नुभएको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वमा गठन भएको सिफारिस समितिले असार २३ गते उपकुलपतिका लागि तीनजनाको नाम प्रधानमन्त्री समक्ष सिफारिस गरेको थियो। ती नाममध्येबाट प्रधानमन्त्री ओलीले डा. अर्याललाई नियुक्त गर्नु भएको प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव विष्णु सुवेदीले जानकारी दिनुभयो।
समितिले सिफारिस गरेको सूचीमा वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा. डा. खड्ग केसी, त्रिवि विज्ञान सङ्कायका पूर्वडीन प्रा. डा. विनिल अर्याल र जल तथा मौसम विभागका पूर्वप्रमुख डा. दीपक अर्याल रहेका थिए।
यसअघि त्रिविका उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले चैत २८ गते राजीनामा दिनुभएको थियो। त्यसपश्चात चैत ३१ गतेसम्म उपकुलपति पद रिक्त रहँदा शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीलाई अधिकतम तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो।
अब डा. दीपक अर्यालले त्रिवु विश्वविद्यालयको पूर्णकालीन उपकुलपतिका रूपमा जिम्मेवारी सम्हाल्ने भएका छन्।

