काठमाडौं, असार २५
आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि रोक्का गरिने भएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को अन्त्य नजिकिँदै गर्दा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्था अनुसार यस्तो निर्णय गरिएको हो।
महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाकी प्रवक्ता सुशीला अर्यालले जानकारी दिनुभयो। उहाँका अनुसार चालु आर्थिक वर्षका लागि सिर्जित दायित्वको बजेट निकासा गर्ने आज अन्तिम दिन हो।
राति १२ बजेदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टिएसए) र कम्प्युटरकृत सरकारी लेखाप्रणाली प्रणाली (सिगास) पनि एक साताका लागि बन्द गरिनेछ।
अघिल्ला वर्षहरूमा मलेनिकाले सबै प्रलेनिका र कोलेनिकालाई असार अन्तिम साता बजेट निकासा रोक्न परिपत्र गर्दै आएको भए पनि यस वर्ष भने सो परिपत्र गरिएको छैन। नियमावलीले स्पष्ट रूपमा वर्ष समाप्त हुनु एक साताअघि नै सबै भुक्तानी रोक्नुपर्ने बाध्यकारी व्यवस्था गरेकाले परिपत्रको आवश्यकता नरहेको प्रवक्ता अर्यालले बताउनुभयो।
“आज रातिदेखि अत्यावश्यक प्रयोजनबाहेक कुनै पनि खर्चको भुक्तानी हुँदैन,” प्रवक्ता अर्यालले भन्नुभयो, “यो कानुनमा राखिएको प्रावधान भएकाले स्वतः कार्यान्वयनमा जान्छ। त्यसैले छुट्टै परिपत्र नगरिएको हो।”
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० अनुसार विनियोजन ऐनले ‘फ्रिज नहुने’ भनेर तोकेका शीर्षक बाहेक अन्य शीर्षकका खर्चहरू रोक्का गरिने व्यवस्था गरिएको छ। अत्यावश्यक प्रयोजनमा भएको खर्च भने महालेखा नियन्त्रक कार्यालयको सहमतिमा मात्र भुक्तानी गर्न सकिनेछ।
यस निर्णयले आगामी आर्थिक वर्षको तयारी र बजेट समायोजनलाई सहज बनाउने अपेक्षा गरिएको छ।

