गजल
लीलाराज दाहाल
गोधूलिमा शृङ्गार गरी कता हिँडेकी नि
नफर्किने बिचार गरी कता हिँडेकी नि !
भन्थ्यौ तिमी कतै जान्न मलाई छोडेर
आज यति हतार गरी कता हिँडेकी नि !
ह्रदय मै बास बस्न दिन्छु भन्दा भन्दै
यो मुटु मै प्रहार गरी कता हिँडेकी नि !
जात अनि धर्मले कहाँ छेक्छ माया ?
जञ्जिरको प्रचार गरी कता हिँडेकी नि !
जसले सधैं घृणाको ईनाम दिइरह्यो
त्यही चिनो स्वीकार गरी कता हिँडेकी नि !
वागमती ११, कर्मैया, सर्लाही

