-लक्ष्मण उप्रेती ” आर्जन ”
इतिहासको कठघरामा उभिएको छु म,
शिर झुकाएर हैन,
नजरमा आवेग छ,
मनमा बिबेक छ,
किनकि इतिहास हेर्नु आत्मासमिक्षा हो,
र म अब,
आफ्नो समयसँग भयभित हुन्न।
इतिहासले मलाई सोध्छ ,
“तँ कहाँ थिइस् जब किसानले आत्महत्या गरेको थियो?”
“तँ के गर्दै थिइस् जब मजदुरको पिठ्युँमा
सञ्चालकले ‘लाठीचार्ज ‘ गरेको थियो?”
म चुप हुन्छु एकछिन ,
तर त्यो मौनता कायरताको होइन,
समय समीक्षाको हो।
“के तँले विद्रोह गरेको थिइस्,
कि केवल कविताको सौन्दर्यमा
क्रान्तिलाई मख्ख परेको थिइस्?”
म सोच्दछु ,
के म क्रान्तिको तलाउमा पलाएको
पुष्प थिएँ?
कि म रगतको भित्तामा लेखिएको
घोषणापत्र?
म एउटा यस्तो युगको सन्तान
जहाँ सत्यको मूल्य कम थियो
तर सत्ताको प्रचार महँगो।
जहाँ किताबहरू छापिन्थे ,
तर पढिदैनथे।
जहाँ विद्यार्थीहरू विद्रोह गर्न आँट्दैनथे,
किनकि उनीहरूलाई जागिर चाहिन्थ्यो,
न कि जीवन।
म यस्तो समाजको प्रतिक हुँ,
जहाँ बिद्रोहलाई आतंक भनिन्थ्यो,
र सास फेर्नेलाई ‘आतंकवादी’।
तर म सास फेर्छु,
अनि फेरि लेख्न थाल्छु ,
“म आफूलाई मेटेर
जनताको आकृति बनाउन चाहन्छु।”
इतिहासको कठघरावाट म भन्दैछु ,
म जन्मिदा मेरो थर ‘ श्रम ‘ थियो,
मेरो जात ‘ शोषणविरुद्धको आवाज ‘।
म हाँस्न जानिन,
तर रुदा मैले अरूको आँसु सम्हालें।
म बन्द कारखानाहरूको कर्कश आवाज हुँ,
जहाँ सहिद मजदुरका छायाँहरू
अझै ड्युटीमै उभिएका छन्।
म सुनिन नदिइएको त्यो गीत हुँ,
जुन आमाले खेतमा गाउथिन्,
जहाँ माटोले रगत शोष्थ्यो,
म फैलिन नदिएको त्यो आवाज हु,
जुन बनमा बाबाको बन्चरोसङगै गुन्जन्थ्यो।
र पसिनाले भिजेर दाउरा बजार पुग्थ्यो,
तर उत्पादनको मूल्य फेला पर्दैनथ्यो।
इतिहास फेरि सोध्छ,
“के तँ इतिहासको पक्षमा थिइस् कि अपराधको?”
म भन्न चाहन्छु ,
अपराध व्यक्ति होइन,
संरचना हो।
अपराध सधैं मेरो रोजाइ होइन,
तर जब संरचनाले पीडित बनायो,
म प्रतिरोधमा बोलें ,
त्यही बोलीलाई उनीहरूले ‘अपराध’ भने।
म दोषी होइन ,
तर म स्वत:स्फूर्त छैन।
म योजनाबद्ध हुँ,
म संघर्षले सिंचित छु।
म अब युगको बयान हुँ
अब म केवल “म” होइन ,
म एक समष्टि हुँ,
सामूहिक विवेक हुँ,
सडकमा चिच्याउने बालकको आक्रोश हुँ,
महँगीका बीच बाँच्न सिकेको आमाको पसिना हुँ,
गाउँमा ढलेको सहिदको अधुरो सपनाको उत्तराधिकारी हुँ।
इतिहास,
अब म तिमीबाट लाज मान्दिनँ।
म तिमीलाई पुनर्लेखन गर्न आउँछु ,
म त्यो पंक्ति लेख्न आउँछु
जहाँ ‘शासक’ होइन,
‘श्रमिक’ नायक हुनेछ।
म कठघराबाट ओर्लिन्छु
न दोषी भएर,
न निर्दोष भएर ,
बरु
एक चेतना भएर,
जो इतिहास बनाउन हिँडेको छ
र फेरि कहिल्यै कठघरामा उभिने छैन।

