काठमाडौं, भदौ २० ।
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं उपत्यकासहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका क्षेत्रमा धुमधामका साथ मनाउने गरिन्छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने यो पर्व आठ दिनसम्म विभिन्न नाचगान, रथयात्रा र देवीदेवताको पूजा–आराधनासहित मनाइन्छ । लिङ्गो ठड्याउने परम्परालाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ भने आठौँ दिन आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ अर्थात् लिङ्गो लडाएर पर्व समापन गरिन्छ ।
यस क्रममा भक्कु नाच, महाकालीनाच, लाखेनाच, दशावतार नाच र पुलुकिसी नाच प्रदर्शित गरिन्छ । साथै, हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा राष्ट्रपति तथा उच्च पदाधिकारीहरूले अवलोकन गर्ने परम्परा छ ।
इन्द्रजात्रासँगै आज भाद्र शुक्ल चतुर्दशीका दिन भगवान् विष्णुको पूजा–आराधना गर्ने अनन्त चतुर्दशी पनि मनाइँदैछ । यस दिन चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभरि शुभ हुने धार्मिक विश्वास छ ।
धर्मशास्त्रविद्हरूका अनुसार जनै परिवर्तन गर्न नसकेकाहरूले यसै दिन मन्त्र गरी लगाउन सक्ने प्रावधान पनि छ । अनन्त चतुर्दशीको व्रत गरी इन्द्रजात्रा मनाएपछि भाद्र शुक्ल पूर्णिमाका दिन दहचोकस्थित इन्द्रदहमा गई स्नान गर्ने धार्मिक परम्परा छ ।

