काठमाण्डौ– कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठीले १०३ औँ जन्मस्मृतिको अवसरमा यस वर्षको ‘बद्रीविक्रम राष्ट्रगौरव पुरस्कार’ निबन्धकार तेजेश्वरबाबु ग्वङ्गलाई र ‘सेवा पुरस्कार नेपाल’ समाजसेवी तथा कलाकार उर्मिला गर्ग उपाध्यायलाई प्रदान गरेको छ।
आइतबार राजधानीमा आयोजित एक भव्य समारोहका बीच गुठीको वार्षिक कार्यक्रममा यी दुई विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको हो। यस पुरस्कारको राशि दुई लाख २२ हजार २२२ रुपैयाँ रहेको छ, जुन गुठीले हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई समर्पण गर्दै आएको छ।
तेजेश्वरबाबु ग्वङ्ग: राष्ट्रगौरवको सम्मान
भक्तपुरको खौमा बज्रखाल चोकका निवासी तेजेश्वरबाबु ग्वङ्गले नेपाल सरकारको उपसचिवका रूपमा लामो समय मुलुकको सेवा गरेका थिए। आफूलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाका चेला मान्ने ग्वङ्गले नेपालमा विकेन्द्रीकरण योजना लागु गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्।
पुरस्कार ग्रहण गर्दै लेखक ग्वङ्गले भने, “यो पुरस्कारले मलाई थप ऊर्जा मिलेको छ। यसले अझै लेख्न प्रोत्साहन गरेको छ।” उनले मनदेखि पाएको यो पुरस्कारले “नुन, चुन र सुनको” महत्त्व झल्काएको बताए। ग्वङ्गका ‘संस्कृतिका आयाम’ (२०५२), ‘संस्कृतिया पलं’ (नेपाल संवत १११९), ‘अवकाशपछिको आकाश’ (२०६७), ‘चराको गुँडझैं जन्मस्थल–मेरो भक्तपुर’ (२०७१), र ‘औकातभरिको सौगात’ (२०७३) जस्ता निबन्ध तथा कविता संग्रहहरू प्रकाशित छन्।
उर्मिला उपाध्याय गर्ग: अग्रजको सम्झना
नेपाल सिर्जनात्मक कलागुठीकी संस्थापक, ललितकला क्षेत्रकी अग्रज चित्रकार तथा गान्धीवादी अभियन्ता उर्मिला उपाध्याय गर्गले बद्रीविक्रम थापाको व्यक्तित्वको उच्च प्रशंसा गरिन्। उनले २० वर्षको उमेरमा बद्रीविक्रम थापा नेपालगञ्जबाट काठमाडौँ नआएको भए आज यो अवसर प्राप्त नहुने बताइन्।
”बद्रीविक्रम थापाजस्तो महान् व्यक्तित्वका नाममा राखिएको पुरस्कार ग्रहण गर्न पाउँदा मैले ठूलै काम गरेछु भन्ने महसुस भइरहेको छ,” उनले भनिन्। गर्गले पुरस्कार स्थापना गर्नेहरूको कार्यलाई ‘अति सराहनीय’ भन्दै अग्रजहरूलाई सम्झिएकोमा गुठीलाई धन्यवाद ज्ञापन गरिन्।
बद्रीविक्रम थापाको योगदानको स्मरण
कार्यक्रममा प्राध्यापक सुरेशराज चालिसेले बद्रीविक्रम थापाको जीवनी र योगदानबारे प्रकाश पारेका थिए। उनले पञ्चायतकालमा पनि थापाले राणा शासनविरुद्ध विद्रोह गरेको र ‘इन्द्रजात्रा काण्ड’ मा संलग्न भएर १० महिना जेल जीवन बिताएको स्मरण गराए। चालिसेले थापालाई एक कुशल प्रशासकको रूपमा चित्रण गरे।
कार्यक्रमका प्रमुख अतिथि तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति एवं नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बद्रीविक्रम थापाले प्रशासन क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे। “मलाई लाग्थ्यो प्रशासकहरू कडा हुन्छन्, तर बद्रीविक्रम थापा फरक हुनुहुन्थ्यो,” डा. कोइरालाले भने, “अहिलेका र पहिलेका प्रशासकहरूमा धेरै भिन्नता आएको छ।”

राष्ट्रिय सभागृहमा गुठीका अध्यक्ष तथा काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. सुरेशराज शर्माको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा गुठीको मुखपत्र र पूर्वसभामुख दमननाथ ढुंगानाबारे लेखिएको ‘बहुआयामिक व्यक्तित्व दमननाथ ढुंगाना’ नामक पुस्तकको पनि लोकार्पण गरिएको थियो।
कार्यक्रममा विद्यार्थीका लागि स्टेसनरी खरिद गर्न दुई सार्वजनिक विद्यालयलाई पचास-पचास हजार उपलब्ध गराईएको थियो भने चिया बेचेर गुजारा चलाउँदै सोही पेसामा आफ्ना सन्तानलाई लगाउने एक महिला र फूलमाला बेचेर गुजारा चलाउँदै सोही पेसामा आफ्ना सन्तानलाई पनि सामेल गराएकी एक महिलालाई श्रम सम्मान गरिएको थियो । दुबैलाई जनही २५ हजार नगदसहित समान गरिएको थियो । कार्यक्रममा विशेष अतिथी तथा श्रम तथा यातायात तथा रोजगार मन्त्री शरतसिंह भण्डारीले समान पाउने द्वेयलाई पमाणपत्र तथा नगदसहित सम्म्मान अर्पण गरेका थिए ।
प्रस्तुति: मिसन अधिकारी

