काठमाण्डौ । सिन्धुलीको गोलन्जोर गाउँपालिकाबाट एकाएक हायु परिवारका १६ सदस्य हराएका छन् भने हराएका १६ जनाको परिवार खोज्न ठाउँ-ठाउँमा प्रहरी परिचालन गरिएको छ।
हायु समुदायका उनीहरूले भत्ता बुझेपछि सम्पर्कविहीन भएका जनाइएको छ। उनीहरूको मोबाइल लोकेसन रामेछापमा देखिएको छ । त्यता लोकेसन देखिएपछि त्यता पनि प्रहरी टोली परिचालन गरेर खोजी जारी रहेको छ।
उनीहरू शुक्रवारदेखि सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर–६ बाट हराएका थिए।
गएको बिहीवार (साउन ८) गते स्थानीय तहबाट लोपोन्मुख हायु समुदायले पाउने भत्ता बुझेपछि उनीहरू हराएका प्रहरीले जनाएको छ।
यसरी सम्पर्कविहीन हुनेमा उर्मिला हायु र उनका ६ छोरा, ६ छोरीसहित १६ जना छन्। उनीहरूले ४ हजारको दरले ३ महिनाको भत्ता रकम बुझेका थिए। यत्रो रकम बुझेका उनीहरूलाई सो रकम हात पार्ने कसैले हत्कण्डा अपनाएको आशंका गर्दै नेपाल प्रहरीले सूक्ष्म अनुसन्धान समेत अघि बढाएको छ ।
सिन्धुलीका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले भत्ता बुझेपछि उनीहरूले घरमै सुँगुरको मासु खाएका पाइएको जानकारी दिएका छन्।
घरमै पुगेका उनीहरू एक्क्कासी कहाँ, कसरी बेपत्ता भए ? घटनाले प्रहरीलाई नै आश्चर्य बनाएको छ ।

