पछिल्लो समय चर्चामा रहेका लेखक तथा साहित्यकार अमर अधिकारीको एक लेख चर्चाको शिखरमा पुगेको देखिएको छ। २०८१ साउन १८ गते अनलाइनखबरमा प्रकाशित उक्त लेख पाठकहरुबाट हालसम्म पनि विश्वभर फैलाउने अर्थात् सेयर गर्ने गरेको पाइएको छ। ‘बालबालिकालाई संस्कार सिकाउने १९ सूत्र’ शीर्षक दिएर लेखिएको सो लेख “एक सञ्चार माध्यमले प्रकाशन गर्न अस्विकार गरेपछि अनलाइन खबरलाई पठाइएको” बताउँछन् लेखक अधिकारी। साहित्यिक संस्थाहरु र सञ्चार माध्यमहरुका बीच आफू पनि लोकप्रिय भैसकेका छन् उनी। संघीय राजधानी काठमाडौँका मात्र नभएर दूरदराज जुम्लादेखि दोलखासम्मका सञ्चार माध्यमहरुले उनीसँग लेख-रचना मागी नै रहेको देखिन्छ। उनलाई लेख-रचना तयार गर्न भ्याइनभ्याइ छ। राती पाँचघन्टा मात्र सुत्न पाउने उनी सायद नेपालकै सर्वाधिक व्यस्त सर्जक हुनसक्छन्। ६२ वर्षको उमेरमा पनि उर्जावान देखिने अधिकारीको जन्म २०२१ साल असार १९ गते तत्कालीन प्यूठान र हालको रोल्पामा अवस्थित खुंग्री गाउँमा भएको हो। उनका लेखका कारण राष्ट्रियस्तरमा सुधारका कामहरु पनि भएको देखिएको छ। पहिलो लेख ‘सिंहदरबारको सुरक्षामाथि सधै प्रश्न’ ले सिंहदरबारभित्रै व्यापक परिवर्तन भएको र पछिल्लो समय ‘गुणस्तर विभागको सेरोफेरो नै गुणस्तरहीन’ शीर्षकको लेखका कारण विभागमा परिवर्तन देखिएको छ। उनको एक लेख छापिएको भोलिपल्ट गृहिणीहरुले विराटनगरका मेयरलाई घेर्न पुगेका थिए। उनको अर्को लेख छापिएपछि एउटा ठगहरुको गिरोह सम्पादकलाई नै घेर्नपुगेका थिए। लेखक अधिकारी भन्छन्- “कलमको शक्ति ज्यादा हुन्छ, कलमले समाज मात्र होइन, समग्र मुलुक बदल्नसक्छ। उनले फोहोरी राजनीति र देशमा व्याप्त कुशासन, विकृति र विसंगतिका विषयमा केन्द्रिय भएर लेख्ने गरेका छन्। उनी ४२ वर्ष काठमाडौँमा र त्यसमा पनि १२ वर्ष सिंहदरभित्र बिताएका पूर्व राष्ट्रसेवक भएको हुँदा मुलुकको दुर्गति हुनुका कारणहरु उनलाई धेरै थाहा छ। उनी सरकारी सेवा गर्ने क्रममा इमानदार भएकै कारण ज्यादै हण्डर खाएको कुरा उनका लेखहरु र उनको आफ्नै पुस्तकमा पढ्न सकिन्छ। उनका तीनवटा पुस्तक प्रकाशन भैसकेका छन् भने आगामी दिनहरुमा दर्जनको संख्या पुर्याउने लक्ष्य लिएर अगाडि बढेका छन् उनी। अधिकारी लेखक तथा साहित्यकार मात्र नभएर सम्पादक, समालोचक, समीक्ष, भूमिका लेखक, पुरस्कार छनौट समितिको संयोजकको भूमिका निर्वाह गरिसकेका छन्। मोबाइलमै कोरिएको उनको पुस्तक ‘ओगिल्जा’ अधिकारीको ट्रेडमार्क बनिसकेको छ। दिमा ३।४ वटासम्म लेख-रचनाहरु प्रकाशन पनि उनै हुने गरेका छन् भन्नुमा फरक पर्दैन। नेपालको सबैभन्दा छोटो लघुकथाका लेखक पनि उनै हुन्, जुन गोरखापत्रको सहप्रकाशन मधुपर्कमा प्रकाशित भैसकेको छ। पछिल्लो समय भने लघुकथाका लागि शब्द सीमा निर्धारण गरिएको छ। उनका कीर्तिमानहरुको संख्या दश पुगिसकको छ। यस विषयमा विभिन्न समयमा प्रकाशन हुने लेख तथा समाचारहरुमा उल्लेख छन्। डा. घनश्याम पुडासैनीले लेख्नुभएको पुस्तक ‘अमर अधिकारीः व्यक्तित्व र कृतित्व’ मा अधिकारीका बारेमा यथेष्ठ कुराहरु उल्लेख छन्। उनले प्राप्त गरेको पछिल्लो पुरस्कार ‘प्रेमनारायण सात्रित्रा हेमकुमारी प्रज्ञा पुरस्कार’ हो भने सम्मानपत्र, आदरपत्र र प्रमाणपत्रहरु अनि मायाको चिनोहरुले उनको वैठक कोठा सिंगारिएको छ। उनी थप्छन्- “पुरस्कार र सम्मान पाउनु ठूलो कुरा होइन, सर्जक वा स्रष्टाले समाज र मुलुकका लागि योगदान दिनु ठूलो कुरा हो। लेखक तथा साहित्यकारहरु पनि एक किसिमले भन्नुपर्दा ‘सामाजिक अभियन्ता’ नै हुन्।” अधिकारीका दिनहुँजसो लेख-रचनाहरु र उनीसँग सम्बन्धित समाचारहरु प्रकाशन हुँदैआएका छन्। उनी ‘अमर कीर्तिमानी’ को नामले पनि चिनिन्छन्। उनले प्राप्त गरेका उपाधि, उपनाम तथा संज्ञाहरूको संख्या पनि आधा दर्जनको हाराहारीमा पुगिसकेको छ। ‘सुपर राइटर’, ‘तुफानी लेखक’, ‘आसुसाहित्यकार’, ‘प्रकृतिप्रेमी’, ‘देशभक्त’ लगायत उनका पछिल्ला उपाधि र उपनाम हुन्।

