काठमाडौं, भदौ ६ । भारत र चीनबीच लिपुलेक नाका प्रयोग गर्ने सहमति खारेज गर्न वामपन्थी तथा क्रान्तिकारी राजनीतिक पार्टी र संगठनहरूले माग गरेका छन् । ललितपुरको कुपोण्डोलस्थित क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको कार्यालयमा बसेको संयुक्त बैठकले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सो माग अघि सारेको हो ।
विज्ञप्तिमा दार्चुलाको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूभाग ऐतिहासिक रूपमा नेपालको भूमि भएको प्रमाणहरूलाई बेवास्ता गर्दै दुई देशबीच व्यापारिक नाका खोल्ने सहमति गर्नु निन्दनीय भएको उल्लेख छ । सो कदमले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि हस्तक्षेप हुने भएकाले सहमति तत्काल खारेज गर्न नेपाल सरकारले पहल गर्नुपर्ने माग गरिएको छ ।
संयुक्त विज्ञप्तिमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सन्तबहादुर नेपाली, नेकपाका चिरन सी, नेकपा (मसाल)का रामप्रकाश पुरी, नेकपा बहुमतका कृष्णप्रसाद धमला, नेकपा एकीकृत समाजवादीका साध्यबहादुर भण्डारी, राष्ट्रिय जनमोर्चाकी दूर्गा पौडेल, नेकपाका कृष्णहरी भट्ट, वैज्ञानिक समाजवादी पार्टीका राजकुमार हिङमाङ र अखिल नेपाल कम्युनिष्ट पार्टीका लक्ष्मण उप्रेतीले हस्ताक्षर गरेका छन् ।
वामपन्थी तथा क्रान्तिकारी दलहरूले जारी गरेको विज्ञप्तिमा लिपुलेकलाई व्यापारिक नाका बनाउने सहमति नेपालको सार्वभौम अधिकारविरुद्धको कदम भएको भन्दै राष्ट्रिय हितका पक्षमा दृढतापूर्वक प्रतिवाद गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

