पितृ सम्झनामा गोकर्णेश्वर
–विश्वनाथ खरेल
गोकर्णे औंसीको रुपमा भाद्र कृष्ण औंसी यो पावन तिथिमा हाम्रो देशको राजधानी काठमाडौं शहरदेखि उत्तर–पूर्वमा रहेको गोकर्णेश्वर महादेवको मन्दिरमा अपाररुपमा मेला लाग्दछ । गोकर्णेश्वर महादेवको महिमाको सम्वन्धमा स्कन्दपुराण अन्तर्गत नेपाल महात्म्यमा उच्चतहको चर्चा गरिएको पाइन्छ । काठमाडौं देखि करिव १० किलोमिटर उत्तर पूर्वमा पवित्र बागमती नदिको किनारमा प्राचिन कला कौशलले भरिपूर्ण गोकर्णेश्वर महादेवको मन्दिर अवस्थित छ । यसको दक्षिण पूर्वमा गोकर्ण राजनिकुञ्ज वन छ भने यस मन्दिरको पश्चिममा यज्ञडोल डाँडा पर्दछ । यस यज्ञडोलमा रावणले तपस्या गरेको भन्ने किंवदन्ती पाईन्छ । हाल पनि यस जगडोल डाँडा कतै कतै खन्दा चरुको जस्तो कालो गोल र अङ्गारहरु पाईन्छ । यज्ञडोल बाट अपभ्रंस भएर नै हाल जगडोल भएको छ ।
यस मन्दिरको माहात्म्य अन्य धार्मिक शास्त्रहरु लगायत हिमवत खण्डको माहात्म्य तथा स्वस्थानी ब्रतकथामा उल्लेख भएको पाईन्छ । स्वस्थानी माहात्म्य अनुसार महादेवले मृग रुप लिई श्लेष्मान्तक वन (लप्सीको रुखहरु भएको ) मृगस्थली मा वन विहार गर्न लाग्दा देवताहरुले महादेवलाई नपाई साथै जगतमाता पार्वती समेत नपाउंदा जताततै खोजी गर्दै जादाँ, पशुपतीको गौरी घाटमा तपस्या गर्न लागेका जगतमाता पार्वतीलाई भेटी, उहाँसंग सोध्दा सुनको एक सिंग भएको मृग रुप लिई श्लेषमान्तक वनमा वन विहार गर्न लागेका महादेव साँच्चेनै मृगरुप लिई मृगनिहरुसंग वनविहार गर्न लागेका देखि, महादेवको दर्शन पाउंन निकै प्रार्थना गर्दा पनि महादेव खुसी नभए पछि, तीनैजना देवताले सल्लाहा गरी महादेवलाई समाउन खोज्दा तीनैजना सिंगमा समाते छन् । उतm सिंग भाँची तीनैजना को हातमा एकएक टुक्रा परेपछि महादेवले इन्द्रको हातमा रहेको मत्र्यमण्डल गोकर्णमा भाद्र कृष्ण आवावश्याका दिन स्थापना गर्नु भन्ने आज्ञा भए अनुसार स्थापना गरिएको हो र सतीदेवीको शरीर पतन हुने क्रममा यस ठाउँबाट केही माथी पूर्व उत्तरमा आईपुग्दा उनको माथिल्लो ओठ पतन भएको पिङ्गलस्थान छ ।
यस मन्दिरको निर्माण कस्ले गरेको हो भन्ने कुनै सिलालेख, ताम्रपत्र वा इतिहासमा समेत कतै उल्लेख भएको पाईएको छैन । यस मन्दिर बारे कुनै सिलालेख, ताम्रपत्र नपाइएता पनि लिच्छवी कालमा बनेको मानगृह गोकर्णमा नै रहेको भन्ने इतिहासमा पाइएको हुनाले र यस मन्दिरको पश्चिममा रहेको पार्वतीको मूर्ति लिच्छवीकालिन कलाशैली भएको भन्ने भनाई पुरातत्वविद्को दावी रहेको छ । यस प्यागोडा शैलीको मन्दिरको कला कौशल, टुंडालमा रहेको मूर्तिकोकलाकृतिलाई राम्ररी हेर्दा काष्ठकलालाई हेर्दा लिच्छवीकालिन नै हो भन्न सकिन्छ । त्यसैले यो मन्दिर मानदेव, शिवदेव प्रथम वा शिवदेव द्धितीयले बनाएको हुनुपर्ने अनुमान पुरातत्वविद्हरुको भनाई रहेको पाईन्छ ।
गोकर्णेश्वर मन्दिरका पाश्र्वमा, वागमतीको बगरमा त्यस पितृ औंसीको खास मेला लाग्छ । के कति कारणले यो मेला यस ठाउँमा लागेको हो किटानसाथ भन्न त सकिन्न, तर यसका पछाडि रहेका केही कथनबाट यसको झलक पाउन सकिन्छ । एक किंवदन्ती अनुसार पौराणिक कालमा नेपाल उपत्यकामा कुनै एउटी वेश्या रहन्थी । वेश्याहरुको सहवास अधिक पुरुषसंग हुने हुनाले उनीहरुको गर्भ रहने कुरा प्रायः सम्भव हुन्न । तर कुनै कुनै बखत संयोगले वेश्यमा पनि कुनै खास पुरुषद्धारा गर्भ रहन जान्छ । तर बहु–पुरुष संभोगको कारणले त्यस खास गर्भ कुन चाहिंबाट रहेको भन्ने कुरा किटान हुन सक्तैन् र त्यस्तो गर्भबाट जन्मेको सन्तान एउटा विषम सामाजिक परिस्थितिमा पर्दछ ।
मातृ संवेदनाको प्रवलताले गर्दा उसले आफ्नो गर्भ तुहाउन मानिन । आफ्नो गर्भको भू्रणलाई जतनसाथ हुर्काई समय पुगेपछि एउटा सुन्दर पुत्रलाई जन्म दिई । त्यसबाट एउटा बालकको जन्म भयो । त्यस बालक ठूलो भएपछि आफ्ना सहपाठीहरुले उसलाई विना बाबुको छोरा भनी हेय दृष्टिले हेर्ने र छिः छिः दूरदूर गर्ने गर्थे । हाम्रो समाजमा कसैलाई पनि विना बाबुको छोरो का सम्वोधनले पुकार्नु जति ठूलो गाली अर्को हुदैन । जब आमाबाट बाबुको पत्ता लाग्ने आशा मरेपछि दन्तुर बाबुको खोजीमा देश विदेश भौंतारिन थाल्यो । तर कहीं गए पनि कसैले उसको बाबुको पत्ता लगाइदिन सकेन । आखिर उ भौतारिदै एक ऋषिका आश्रममा पुगी उनको सेवा गर्न थाल्यो । धेरै दिन ऋषिको सेवा गरेपछि खुसी भएर दन्तुरलाई गोकर्णेश्वरको नजिक रहेको बागमतीमा सधैं स्नान गरी पितृहरुलाई तर्पण गर्नु, अनि गोकर्णेश्वर महादेवको पूजा आजा सेवा गर्नु तेरो बाबुको पत्तो लाग्ने छ । भनी उपदेश र आशिर्वाद दिए । सोही बमोजिम दन्तुरले बागमतीमा स्नान गरी पितृहरुलाई पिण्डदान तर्पण दिन लाग्दा पितृलोकबाट सबै पितृहरु आई पिण्ड हात थापेछन् । आफ्ना बाबुलाई पिण्ड दिन खोज्ने दन्तुर यी पितृहरुका मध्यमा आफ्ना बाबुलाई ठम्याउन नसकेर असमञ्जसमा परेछ । त्यो देखेर उसका पुरोहितले तिम्रो बाबु यिनै हुन भनी एकजना पितृलाई चिनाइ दिए । यसरी आफ्ना बाबुको टुङ्गो लागेपछि दन्तुर प्रसन्न भएर तर्पण पिण्ड गरी घर फक्र्यो । त्यसै दिनदेखि गोकर्णेश्वरका समीपको बागमतीलाई पितृतीर्थका रुपमा प्रख्यात गरियो र दन्तुरले बाबु चिनी तर्पण गरेको दिन भाद्र कृष्ण औसी परेकोले त्यस दिनलाई पिताको विशेष रुपमा मान्यता दिइन्छ ।
अन्तमा बाबुप्रतिको स्नेहले भरिपूर्ण भएको यस पर्वको आफ्नै किसिमको महत्व राख्दछ । धर्म र संस्कृतिमा हाम्रो देश धेरै धनि छ, र राष्ट्रमा आफ्नै किसिमको धर्म, संस्कृति रहेको छ । त्यसैले होला छोरा छोरी र आमा बाबुको सुमधुर सम्वन्ध गाँस्ने आजको यो पवित्र दिनलाई हामीले आफ्नो धर्म, सँस्कृति र परम्परा अनुरुप श्रद्धा र आस्था पूर्वक मनाउने गर्दछौं । यसैमा हाम्रो आफ्नो पन र गौरव गाथाको इतिहास पनि लुकेको छ । हाम्रो देशमा विद्यमान रहेका मठ– मन्दिरहरु मध्ये गोकर्णेश्वर मन्दिर पनि एक हो । यस्ता किसिमका प्राचिन कला कौशलले भरिपूर्ण भएका मन्दिरहरुलाई बचाउनु सबैको परम कर्तव्य हुनेछ । यस किसिमको रमणिय एवं प्राचिन तथा धार्मिक स्थलको रुपमा चिनिने यस क्षेत्रको गरिमालाई आत्म साथ गरी प्राचिन शैलीमा बनेका मठ–मन्दिरहरुको संरक्षण तथा सम्वद्र्धन गर्दै जानु पर्ने आजको समयको माग रहेको छ ।

