काठमाडौं, साउन ३
पुर्खौली सुनचाँदी पेशा, संस्कृति र मौलिक सीपको संरक्षण गर्दै राज्यको दमन र महासंघस्तरीय बेथितिविरुद्ध खबरदारी गर्न ‘पुर्खौली सुनचाँदी पेशा तथा सीप बचाउ महाअभियान’ सुरु गरिएको छ ।
आन्दोलन परिचालन मूल समितिका संयोजक अमृत गजमेरका अनुसार यो अभियान अहिलेको संकटपूर्ण अवस्थामा सुनचाँदी व्यवसायी तथा सीपमूलक श्रमिकहरूलाई संगठित गर्दै आफ्नो हक, अधिकार र अस्तित्वको लागि संघर्षको मार्ग रोज्नुपरेको बाध्यता हो ।
राज्यको आतंक र महासंघको धोका विरुद्ध खबरदारी
कार्यक्रमका वक्ताहरूले राज्यले सुनचाँदी पेशामाथि लगाएको कर वृद्धिदेखि नीति निर्माताहरूको उपेक्षासम्मको विरोध जनाउँदै त्यसलाई ‘राज्य आतंक’ को संज्ञा दिएका छन् । साथै, महासंघहरुले राज्यसँग गरेको ६ बुँदे उधारो सहमति व्यवसायीमाथिको गम्भीर धोका भएको भन्दै यसको घोर निन्दा र भत्सना गरिएको छ ।
मुख्य मागहरू यसप्रकार छन्:
राज्यले लगाएको अत्यधिक कर तत्काल खारेज गर्नुपर्ने
पारम्परिक पेशा र सीपको संवैधानिक संरक्षण सुनिश्चित गर्नुपर्ने
सुनचाँदी व्यवसायीहरूमाथि भइरहेको सरकारी नियन्त्रण र दमन अन्त्य गर्नुपर्ने
महासंघहरू व्यवसायीको हितविपरीत कार्य नगर्न चेतावनी दिइएको
पुरानो सहमतिको पुनरावलोकन गर्दै व्यवसायीको सल्लाहबिना कुनै सम्झौता नगर्नुपर्ने
सीपमूलक पेशालाई सम्मानजनक दर्जा दिँदै सरकारी नीति निर्माणमा सहभागिता सुनिश्चित गर्नुपर्ने
अभियानले सशक्त विरोध कार्यक्रमहरू अगाडि बढाउने तयारी गरिरहेको जनाएको छ । संयोजक गजमेरले आन्दोलन शान्तिपूर्ण तर प्रभावशाली हुने बताए ।
कार्यक्रममा सहभागी विभिन्न जिल्लाका व्यवसायी र सीपपारखीहरूले आफ्नो अनुभव र पीडा पोख्दै राज्य र महासंघको भूमिकामाथि गम्भीर प्रश्न उठाएका थिए ।
सुनचाँदी मात्र व्यापार नभई हाम्रो संस्कृति र इतिहासको प्रतीक भएकाले यसको संरक्षण र सम्मान राज्यको जिम्मेवारी भएको उनीहरूको भनाइ छ ।

