काठमाडौं, साउन ३ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको नवौं कार्यसमिति बैठक आज काठमाडौंमा सम्पन्न भएको छ । बैठकमा व्यवसायीका मुद्दामा व्यापक छलफल र गम्भीर वार्ता भएको छ भने महासंघले सरकारसँग व्यवसायीका प्रमुख मुद्दामा स्पष्ट र दृढ अडान लिनुपर्ने आवश्यकतामा जोड दिएको छ ।
बैठकमा सहभागी सदस्यहरूले सुनचाँदी व्यवसायसँग सम्बन्धित ऐन, नियम, कर संरचना, नियमन प्रणाली तथा व्यवसायमैत्री वातावरण निर्माणका विषयमा सरकारसँग दोहोरो मापदण्ड नअपनाउन आग्रह गर्दै महासंघलाई व्यवसायीको पक्षबाट निर्भीक ढंगले प्रस्तुत हुन दबाब दिएका थिए ।
बैठकमा तस्करी नियन्त्रण, आयात प्रक्रिया सरलीकरण, कर स्थायित्व, सुनचाँदीका दर समायोजन, सुनको कोटा प्रणाली तथा व्यवसायमा भइरहेका प्रशासनिक अवरोधहरूको समुचित व्यवस्थापनका विषयमा गहिरो छलफल भएको महासंघले जनाएको छ ।
महासंघका पदाधिकारीहरूले व्यवसायीका जायज मागप्रति सरकार गम्भीर नबनेसम्म चरणबद्ध रूपमा आन्दोलनात्मक कार्यक्रम अगाडि बढाउने चेतावनीसमेत बैठकमा दिएका छन् ।
महासंघले छिट्टै सरकारका सम्बन्धित निकायसँग वार्ता गर्दै व्यवसायीका मागबारे स्पष्ट धारणा राख्ने निर्णयसमेत बैठकबाट लिएको छ ।

