काठमाडौँ । जेनजी आन्दोलनका क्रममा चोरी–लुटपाटमा परेका बहुमूल्य गरगहना बजारमा प्रवेश गर्ने आशङ्कामध्ये, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले व्यवसायीलाई उच्च सतर्क रहन आग्रह गरेको छ।
महासङ्घका महासचिव निरबहादुर विश्वकर्माले मंगलबार विज्ञप्ति जारी गर्दै चोरी वा लुटिएका सुनचाँदी बजारमा ल्याइने सम्भावना भएकाले कारोबार गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताए।
उनका अनुसार ग्राहकसँग कारोबार गर्दा परिचयपत्र र आवश्यक कागजात अनिवार्य रूपमा जाँच गर्नुपर्नेछ। साथै, सीसी टिभी, अर्लाम प्रणाली, भीड नियन्त्रण, अपरिचित व्यक्तिको प्रवेशमा कडाइ र शङ्कास्पद गतिविधि तत्काल प्रहरीलाई खबर गर्न पनि महासङ्घले व्यवसायीलाई सचेत गराएको छ।आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतदेखि निजी सम्पत्तिसम्ममा क्षति पुगेको र कैदीबन्दीसमेत फरार भएको उल्लेख गर्दै महासङ्घले सुनचाँदी क्षेत्र पनि जोखिममा पर्ने चेतावनी दिएको हो।
महासङ्घले बजारमा आउन सक्ने सम्भावित अवैध गरगहनाको रोकथाम र व्यवसाय सुरक्षित राख्न सबै सदस्य तथा व्यवसायीलाई उच्च सतर्कताका साथ कारोबार गर्न अपिल गरेको छ।

