काठमाडौँ, असोज १
आज नेपालभरका कालीगढ र श्रमिकहरूले भगवान् विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस तथा विश्वकर्मा पूजा पर्व भव्य रुपमा मनाएका छन् । प्रत्येक वर्ष झैँ आश्विन सङ्क्रान्तिका दिन पर्ने यस पर्वमा कलकारखाना, कार्यस्थल र घरघरमा विशेष पूजा आराधना गरिएको हो ।
काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा भगवान् विश्वकर्माको बालुवाको मूर्ति वा तस्बिर बनाई विधिपूर्वक पूजा गरिएको छ । कलकारखानालाई आकर्षक ढंगले सजाएर मजदुरलाई सहभागी गराई विशेष कार्यक्रमको आयोजना गरिएको थियो । पूजापछि बालुवाको मूर्तिलाई सुन्दरीजललगायत शुद्धस्थलमा लगी विसर्जन गर्ने परम्परा छ ।
धार्मिक विश्वासअनुसार आजका दिन औजार, मेसिन, सवारीसाधनलगायत प्रयोगमा ल्याइने साधनमा पूजा आराधना गरेमा ती लामो समय टिक्ने, बिग्रन नदिने र राम्रो काम हुने मान्यता छ ।
धर्मशास्त्रविद्हरूका अनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसबाट बचाउन विश्वकर्माले एकै रातमा समुद्रबीच ‘भेद द्वारका’ निर्माण गरेको उल्लेख पाइन्छ । यही कारण उहाँलाई सफल वास्तुविद् मानिँदै आएको हो । भारतको गुजरातमा रहेको उक्त ‘भेद द्वारका’ आजसम्म अवस्थित रहेको विश्वास गरिन्छ ।
वास्तुशास्त्रीहरूले भगवान् विश्वकर्मालाई वास्तु विद्याका प्रणेता मानेका छन् । ‘विश्वकर्मा प्रकाश’ नामक ग्रन्थ पनि उहाँले नै रचना गरेको विश्वास गरिन्छ । यसै सम्झनामा नेपालका कालीगढहरूले हरेक वर्ष उहाँको सम्मानमा विशेष पूजा गर्ने परम्परा बसालिएका छन् ।
यस पर्वको अवसरमा इञ्जिनजडित मेसिनदेखि सवारीसाधनमा समेत पूजा गर्ने प्रचलन बढ्दो छ । पछिल्ला वर्षमा नेपालमा वास्तु विद्याप्रति चासो र अध्ययन पुनः जागृत भइरहेको छ । स्थापत्यवेदमा आधारित भवन तथा आवास निर्माण गर्नेहरूको संख्या बढ्दै गएकोले वास्तु विद्याको महत्व अझ बढेको विशेषज्ञहरूको भनाइ छ ।

