बिहान ११:३९ भाइटीकाको उत्तम साइत
काठमाडौं । यमपञ्चक भनिने तिहारको मुख्य दिन आज भाइटीका देशभर हर्षोल्लासपूर्वक मनाइँदै छ। दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दै सप्तरंगी टीका लगाएर यो पर्व मनाइरहेका छन्।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया का दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार यस वर्ष तिथि वृद्धि भई छैटौँ दिनमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
आजको दिनलाई यमद्वितीया पनि भनिन्छ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर दीर्घजीवनको कामना गर्ने र दाजुभाइले दिदीबहिनीलाई टीका लगाएर सौभाग्यको आशीर्वाद दिने परम्परा रहँदै आएको छ।
धर्मशास्त्रविद् प्रा. देवमणि भट्टराईका अनुसार, दिदीबहिनीलाई पूजा गरे अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय विश्वास छ।
टीकाको उत्तम साइत बिहान ११ः३९ बजे अभिजित मुहूर्तमा रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले बताए।
यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्वतर्फ र टीका ग्रहण गर्ने दाजुभाइ पश्चिमतर्फ फर्कनुपर्ने परामर्श समितिले दिएको छ। यसो गर्दा तुला राशिमा रहेका चन्द्रमा सम्मुख पर्ने धार्मिक विश्वास छ।
शुभकर्म गर्दा चन्द्रमालाई दाहिने वा सम्मुख पारेर गर्नुपर्ने शास्त्रीय नियम छ, र राज्य सञ्चालकहरूले साइतमै टीका लगाउनुपर्ने परम्परा पनि समितिले स्मरण गराएको छ।
टीका लगाउनुअघि दिदीबहिनीले दियो, कलश र गणेशको पूजा गरी अष्ट चिरञ्जीवी (मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम) लगायत देवताहरूको आराधना गर्छन्। त्यसपछि तेलको धाराले छेकी पञ्चरंगी टीका, मखमली र सयपत्री फूलको माला लगाइदिने परम्परा रहन्छ।
धर्मशास्त्रविद् भट्टराईका अनुसार, शास्त्रमा उल्लेखित टीकाका पाँच रंग क्रमशः रातो, सेतो, पहेंलो, हरियो र नीलो हुन्।
टीका पछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला र सेलरोटी प्रदान गर्छन् भने दाजुभाइले पनि कपडा र दक्षिणा दिई आशीर्वाद ग्रहण गर्छन्।
दिदीबहिनी वा दाजुभाइ नहुनेका लागि
आजैका दिन काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला हुन्छ। यो मन्दिर वर्षमा यही दिन मात्रै खुल्ने परम्परा रहेको छ, जहाँ दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले पूजा–दर्शन गरी टीका लगाउँछन्।
यसैगरी, जयबागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि यस्ता भक्तजन टीका लगाउन जाने चलन छ।
विसं २०३५ अघि रानीपोखरीमा भीड नियन्त्रणका कारण मन्दिर बन्द गरिएको भए पनि त्यसपछि हरेक वर्ष नियमित रूपमा खुल्ने गरिएको छ।
नेवार समुदायमा किजापूजा
नेवार समुदायले आजको दिनलाई किजापूजाका रूपमा मनाउँछन्।
भक्तपुरका केही नेवार समुदायले भने बुधबार नै किजापूजा गरेको भक्तपुर नगरपालिकाले जनाएको छ।
भक्तपुरस्थित तलेजु मन्दिरका पुजारीले निर्णय गरेअनुसार यस वर्ष यस्तो गरिएको बताइएको छ।

