काठमाडौँ । भारतीय अभिनेत्री तथा पार्श्वगायिका सुलक्षणा पण्डितको ७१ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ।
बिहीबार साँझ सास फेर्न गाह्रो भएपछि मुम्बईस्थित नानावती अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले उनका भाइ ललित पण्डितलाई उद्धृत गर्दै जनाएको छ।
सुलक्षणाले सन् १९७५ मा सञ्जीव कुमारसँग अभिनय गरेको चलचित्र ‘उल्झन’ बाट बलिउडमा डेब्यु गरेकी थिइन्। त्यसपछि उनले राजेश खन्ना, शशि कपूर, अमिताभ बच्चन, विनोद खन्ना लगायत आफ्ना समयका चर्चित कलाकारहरूसँग अभिनय गरेकी थिइन्।
उनका चर्चित चलचित्रहरूमा संकोच, हेराफेरी, खानदान, धरम काँटा, दो वक्तकी रोटी र गोरा रहेका छन्।
अभिनयसँगै सुलक्षणाले पार्श्वगायिकाको रूपमा पनि उत्तिकै सफल करिअर बनाएकी थिइन्। उनले हिन्दीसँगै बंगाली, मराठी, उडिया र गुजराती भाषाका गीतहरूमा पनि आवाज दिएको पाइन्छ।
हरियाणाको हिसारमा जन्मेकी सुलक्षणा संगीतमय परिवारमा हुर्केकी थिइन्। प्रसिद्ध शास्त्रीय गायक पण्डित जसराज उनका काका हुन्। उनका भाइ जतिन र ललितले ‘जतिन–ललित’ नामबाट ९० को दशकमा बलिउडमा लोकप्रिय संगीतकारको पहिचान बनाएका थिए।
उनकी बहिनी विजयता पण्डित पनि अभिनेत्री हुन्।

