काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा सम्पन्न दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनमा सहभागी भई बिहिबार स्वदेश फर्किएका छन्।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीलाई राष्ट्रपति पौडेलको भ्रमणबारे जानकारी दिँदै सो भ्रमण सफल र फलदायी रहेको बताए। उनका अनुसार भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता भएका साथै उक्त सम्मेलनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति सुदृढ बनाएको छ।
सचिव राईका अनुसार भ्रमणले नेपालजस्ता विकासोन्मुख राष्ट्रहरूको पक्षमा आवाज बुलन्द गर्न महत्वपूर्ण योगदान पु¥याएको छ। सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सामाजिक न्याय, समावेशिता र दिगो विकासप्रति नेपालको दृढ प्रतिबद्धता व्यक्त गरेका थिए।
राष्ट्रपति पौडेलले गुणस्तरीय शिक्षा, सबैका लागि स्वास्थ्य सेवा, महिला तथा युवा सशक्तीकरणका क्षेत्रमा विश्व समुदायबीच सहकार्य र साझेदारी बढाउन आह्वान गरेका थिए।
कतारका अमिर महामहिम शेख तमिम बिन हमाद अल–थानीको निमन्त्रणामा राष्ट्रपति पौडेल कात्तिक १८ देखि २० गतेसम्म दोहामा आयोजित उक्त सम्मेलनमा सहभागी हुन कात्तिक १७ गते काठमाडौँबाट प्रस्थान गरेका थिए।
सचिव राईका अनुसार राष्ट्रपति पौडेलले सम्मेलनको ‘उच्चस्तरीय गोलमेच’ सत्रमा ‘सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरणः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी तथा सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण’ विषयमा सम्बोधन गरेका थिए। उनले सम्बोधनमा दिगो र मानव–केन्द्रित सामाजिक विकासका लागि सुदृढ लोकतन्त्र, समावेशी नीति, जवाफदेही संस्था र पारदर्शी सार्वजनिक सेवाको आवश्यकता औंल्याएका थिए।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गरेका थिए। भेटमा राष्ट्रपति पौडेलले नेपालले नगण्य कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनका गम्भीर असर भोगिरहेको उल्लेख गर्दै ती असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग बढाउन आग्रह गरेका थिए।
महासचिव गुटेरेसले नेपालले संयुक्त राष्ट्र शान्ति मिसनमार्फत विश्व शान्ति र सुरक्षामा पुर्याएको योगदानको प्रशंसा गर्दै जलवायु परिवर्तनका असरमा परेका मुलुकहरूलाई सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले नेपालको लोकतान्त्रिक संस्थाहरू आफ्ना समस्या समाधान गर्न सक्षम रहेको विश्वास पनि व्यक्त गरे।
राष्ट्रपति पौडेलले सम्मेलनमा सहभागी मुलुकका प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा कतारका अमिरले आयोजना गरेको दिवाभोजमा सहभागिता जनाएका थिए।
त्यसैगरी, उनले दोहास्थित नेपाली राजदूतावासको अवलोकन गर्दै त्यहाँस्थित नेपाली समुदायका प्रतिनिधिसँग भेटघाट गरेका थिए। भेटमा राष्ट्रपति पौडेलले कतारमा रहेका नेपाली श्रमिक र व्यवसायीहरूको हितमा सरकार सदैव प्रतिबद्ध रहेको बताए।
कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलले राष्ट्रपति पौडेल र उनकी धर्मपत्नी श्रीमती सविता पौडेलको सम्मानमा आयोजना गरेको रात्रिभोजमा पनि राष्ट्रपति सहभागी भएका थिए।
राष्ट्रपति पौडेलको भ्रमण टोलीमा श्रीमती सविता पौडेल, सञ्चार विज्ञ किरणकुमार पोखरेल तथा उच्च सरकारी अधिकारीहरू समावेश थिए।

