काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ‘६ प्रतिशत राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्र–२०८९’ निष्काशनका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
बैंकले एक हजार रुपैयाँ अंकित मूल्यका दरले ३० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको हो, जसको कुल मूल्य तीन अर्ब रुपैयाँ बराबर हुन्छ।
सो सम्बन्धी सम्झौता शुक्रबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो। सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार वाणिज्य बैंकले जारी गर्ने कुल तीन अर्ब बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत (१८ लाख कित्ता) अर्थात् एक अर्ब ८० करोड रुपैयाँ बराबरको भाग संस्थागत तथा व्यक्तिगत लगानीकर्ताका लागि खुला हुनेछ। बाँकी ४० प्रतिशत (१२ लाख कित्ता) अर्थात् एक अर्ब २० करोड रुपैयाँ बराबरको भाग सर्वसाधारणका लागि निष्काशन गरिने बैंकका उप–कार्यकारी अधिकृत पवन रेग्मीले जानकारी दिए।

