काठमाडौं । विमला चौधरीको शानदार ह्याट्रिक गोलको सहयोगमा त्रिभुवन आर्मी क्लबले बिहीबार आरएस पोखरा एफसीलाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै प्रथम झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ।
यस जितसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ। पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र सङ्कटा क्लब प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो सेमिफाइनलमा एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी आमनेसामने हुनेछन्।
खेलको १६औं मिनेटमै आर्मीले अग्रता लिएको थियो। विमला विकको फ्रिकिकमा जेनिफर रानामगरले हेडमार्फत गोल गर्दै टोलीलाई सुरुवाती सफलता दिलाइन्। त्यसपछि ३३औं मिनेटमा जेनिफरले दोस्रो गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाइन्।
पूर्वार्धको इन्जुरी समयमा डिफेन्डर विमला विकले कर्नरमा गोल गर्दै आर्मीलाई तीन गोलको आरामदायी अग्रतामा पुर्याइन्।
दोस्रो हाफमा लामो समयसम्म प्रतिरोध गरेको पोखरा टोलीले अन्तिम पाँच मिनेटमा लगातार तीन गोल बेहोर्नु पर्यो। खेलको ८५औं मिनेटमा सन्जु कुमालको पासमा विमला चौधरीले गोल गरिन्। इन्जुरी समयमा अनिता लामजेलको कर्नरमा अर्को गोल गर्दै उनले ह्याट्रिक पूरा गरिन्।
खेलको अन्तिम मिनेटमा विमला विकको पासमा शर्मिला थापाले गोल गर्दै आर्मीको जित ६–० मा समाप्त पारिन्।
ह्याट्रिक गरेकी विमला चौधरीलाई ‘प्लेयर अफ दी म्याच’ घोषित गरियो। उनले पुरस्कारस्वरूप १५ हजार रुपैयाँ प्राप्त गरिन्।

