नेपाल राष्ट्र बैंकले सुन खरिदका लागि आवश्यक सिफारिस गर्दा कुनै पनि प्रकारको दस्तुर वा शुल्क नलिन आग्रह गरेको छ। मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले सुन व्यवसाय सम्बन्धी संघ तथा महासंघलाई वाणिज्य बैंकमार्फत सुन खरिद गर्ने व्यवसायीहरूका लागि सिफारिस गर्दा शुल्क नलिन स्पष्ट रूपमा निर्देशन दिएको हो।
सुन आयात तथा बिक्री वितरणका लागि हाल लागूमा रहेको ‘सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८’ को दफा १४ अनुसार संघ–महासंघले व्यवसायीहरूलाई सिफारिस दिने क्रममा कुनै शुल्क लिन नपाउने व्यवस्था छ।
राष्ट्र बैंकको सूचनामा भनिएको छ, “सुन खरिदको लागि सिफारिस प्रदान गर्ने संघ, महासंघ र सिफारिस लिने व्यवसायीहरूले सो कार्यविधिको पूर्ण पालना गर्नु पर्नेछ।”

