– काठमाडौं, असार २१
आगामी आर्थिक वर्षको बजेटमा समेटिएको अब्यवहारिक कर नीतिको विरोधमा देशभरका सुनचाँदी व्यवसायीहरू आन्दोलनरत छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल रत्न तथा आभूषण महासंघले संयुक्तरूपमा असार १३ गतेदेखि अनिश्चितकालीन बन्द घोषणा गर्दै विरोध कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्।
आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउने उद्देश्यले शनिबार दुवै महासंघको संयुक्त बैठक सम्पन्न भएको छ। बैठकले एक साता लामो आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ, जसअनुसार चरणबद्ध रूपमा विरोध प्रदर्शन, र्याली, धर्ना र सरकारसँग वार्ता दबाब अभिवृद्धि गरिने बताइएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष दियेशरत्न शाक्यले आन्दोलनको प्रभावकारिता बढाउन नयाँ कार्यक्रमहरू तयार पारिएको जानकारी दिनुभयो। उहाँले अब्यवहारिक कर नीतिले सम्पूर्ण सुनचाँदी तथा रत्न–आभूषण व्यवसाय धराशायी हुने खतरा देखिएको बताउनुभयो।
त्यस्तै, रत्न तथा आभूषण महासंघका अध्यक्ष किसन सुनारले माग पूरा नभएसम्म आन्दोलन जारी रहने प्रष्ट पार्नुभयो। उहाँले सरकारले सुनचाँदी क्षेत्रमा लगाइएको विलासिता कर र मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता नगरे आन्दोलन झनै सशक्त हुने चेतावनी दिनुभयो।
व्यवसायीहरूले सरकारले लगाएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने माग गर्दै आएका छन्। यस्ता करहरूले उपभोक्तालाई महँगीको मारमा पार्नुका साथै व्यवसायीहरूलाई समेत व्यवसाय बन्द गर्न बाध्य बनाउने उनीहरूको भनाइ छ।
यसैबीच, आन्दोलनको प्रभाव राजधानीका विभिन्न बजार क्षेत्रहरूमा देखिन थालेको छ। अधिकांश सुनचाँदी पसलहरू बन्द छन् भने आम उपभोक्ता समेत सेवा नपाउँदा प्रभावित भएका छन्। व्यवसायीहरूले आफ्नो आवाज नसुनिए कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएका छन्।

