२०८२ असार १३ गते, काठमाडौं ।
सरकारद्वारा प्रस्तुत अव्यवहारिक कर नीतिको विरोधमा नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त आयोजनामा आज काठमाडौंमा वृहत विरोध ¥याली तथा खबरदारी सभा सम्पन्न भएको छ। असार १३ गतेबाट सुरु गरिएको अनिश्चितकालीन चरणबद्ध आन्दोलनको पहिलो दिन देशभरका व्यवसायी, कालीगढ, उपभोक्ता, कर्मचारी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागितामा शान्तिपूर्ण र सशक्त खबरदारी कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा सहभागीहरूले काठमाडौंको शान्तिबाटिकाबाट सुरु गरिएको ¥यालीमार्फत ‘अव्यवहारिक कर खारेज गर’, ‘हाम्रो व्यवसाय जोगाऊ’, ‘उत्पादनमूलक पेशा संरक्षण गर’, ‘जनताको रोजगारी सुनिश्चित गर’ जस्ता नारा सहित विरोध प्रदर्शन गरेका थिए। आन्दोलनको पहिलो दिनको सफल समापनसँगै संयुक्त महासंघले सरकारलाई यथाशक्य चाँडो कर नीतिमा पुनर्विचार गर्न स्पष्ट सन्देश दिएको छ।
संयुक्त महासंघका पदाधिकारीहरूले खबरदारी सभामा सम्बोधन गर्दै सरकारको हालको कर नीति सुनचाँदी तथा रत्न आभूषण व्यवसायमाथिको असंवेदनशील हमला भएको आरोप लगाए। उनीहरूले २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (VAT) लाई व्यवसाय, रोजगार, उपभोक्ता र समग्र अर्थतन्त्रविरुद्धको निर्णय भन्दै तत्काल खारेज गर्न माग गरे।
संयुक्त महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आफ्नो हक–हित र अस्तित्वको रक्षार्थ गरिएको आन्दोलनमा एक्यवद्ध भएर ऐक्यबद्धता प्रदर्शन गर्ने सम्पूर्ण व्यवसायी, कालीगढ, उपभोक्ता, कर्मचारी तथा पत्रकारप्रति हामी गहिरो कृतज्ञता प्रकट गर्दछौं। यो हाम्रो साझा अधिकारको लडाइँ हो, जुन तबसम्म चलिरहनेछ जबसम्म सरकारले व्यवसायको वास्तविकता बुझेर कर नीति सच्याउँदैन।”
आन्दोलनलाई थप प्रभावकारी बनाउँदै लैजाने तयारी भएको महासंघले जनाएको छ। आगामी दिनमा माग सम्बोधन नभए थप कठोर आन्दोलनको कार्यक्रम घोषणा गरिने चेतावनी दिँदै महासंघले सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको छ।

