काठमाडौं, असार ५ ।
नेपालभरका सुनचाँदी व्यवसायी, कालिगढ र यस पेशासँग आवद्ध कर्मचारीहरु आक्रोशित बन्दै गएका छन्। सरकारद्वारा आगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदी व्यवसायमा लगाइएको २% विलासिता कर र १३% भ्याट विरुद्धमा जारी संघर्षको बिचमा, महासंघले व्यवसायीको विश्वासमाथि खेलवाड गरेको भन्दै तीव्र असन्तुष्टि पोखिएको छ।
नेपालभरका आन्तरिक राजस्व कार्यालयमा पठाइएको परिपत्र अनुसार सरकारले सम्बन्धित कर नीतिमा कुनै स्पष्ट निर्णय नगरेको देखिन्छ। तर यता महासंघका केही सीमित व्यक्तिहरुले प्रधानमन्त्रीसँग खिचिएको एउटा फोटोका आधारमा राष्ट्रिय सम्मेलनको नाममा आफ्नो संगठन विस्तार गर्न खोजेको आरोप व्यवसायीहरूबाट लागिएको छ।
संघर्ष समितिका अनुसार, आम व्यवसायी र कालिगढको बलिदान र चरणवद्ध आन्दोलनको जगमा केही व्यक्तिहरुले व्यक्तिगत लाभको लागि प्रधानमन्त्रीसँगको भेटलाई प्रचारको माध्यम बनाएका छन्। महासंघ आफैले नभई तेस्रो पक्षलाई प्रयोग गरेर प्रधानमन्त्रीसँग फोटो खिचाएको घटनालाई व्यवसायीहरूले धोका र विश्वासघातको संज्ञा दिएका छन्।
आन्दोलनरत व्यवसायीहरुले गम्भीर रूपमा प्रश्न उठाएका छन् — “प्रधानमन्त्रीसँग लिखित कुनै समझदारी विना, खाली फोटोको भरमा कसरी व्यवसायीहरूको भविष्य निर्धारण गर्न खोजिन्छ?” उनीहरूको भनाइ छ, “तीनवटा महासंघमध्ये कुनै पनि महासंघले प्रधानमन्त्रीसँग लिखित सहमति ल्याउन सकेको छैन। यसरी लाखौं जनताको जीवनसँग सम्बन्धित पेशालाई महासंघले सुलीमा चढाएको हो।”
विगत केही सातादेखि निरन्तर विरोध प्रदर्शन, र्याली र रिले अनशन गर्दै आएका सुनचाँदी व्यवसायीहरू अहिले अझ बलियो आन्दोलनको तयारीमा छन्। उनीहरूले आफूहरूको भविष्य सुनिश्चित नगरेसम्म आन्दोलन नरोकिने जनाएका छन्।
आन्दोलनकारीहरूको भनाइमा विश्वास गर्ने हो भने, यस संघर्षले केवल करको मुद्दा मात्र होइन, व्यवसायीहरूको अस्तित्व र पहिचानको रक्षाका लागि निर्णायक मोड लिँदैछ

