काठमाण्डौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीको राजीनामा मागेका छन्। मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई हिजो राजीनामा माग गरेका हुन्।
राजीनामाबारे मुख्यमन्त्री शाह र मन्त्री चौधरीले जानकारी गराएको नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले बताएका छन् । राजीनामाको कारणबारे थप छलफल गरी कदम चाल्न आफूले सुझाएको उनले जानकारी दिएका छन् । मन्त्रीले गल्ती गरेको भए कारबाही गर्ने अधिकार मुख्यमन्त्रीलाई भएकाले बर्खास्त गर्न सक्ने उनले बताए।
गत जेठ ४ गते मात्र मन्त्री बनेका चौधरीको कार्यशैलीप्रति मुुख्यमन्त्री शाह असन्तुष्ट रहेको बताइन्छ। तर, चौधरी कृषिमन्त्री भएका वेला कैलाली र कञ्चपुरमा पावर टेलर ट्र्याक्टरमा अनुदान वितरणमा भएको व्यापक हिनामिना प्रकरणमा मन्त्रीको पनि सङ्लग्नता देखिएकाले राजीनामा मागिएको बुझिएको छ।
यो प्रकरणमा संलग्न सुरो नेपालकी अध्यक्ष सुशीला खड्कासहितका केहीलाई कञ्चनपुर प्रहरीले केही दिनअघि पक्राउ गरेको छ।
कैलाली प्रहरीमा समेत जाहेरी दर्ता भएको छ। मन्त्री चौधरी भने अहिले आन्तरिक परामर्शमा जुटेका छन्। यो प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गर्दै उनले मुख्यमन्त्रीलाई बर्खास्तगीको अधिकार प्रयोग गर्न चुनौती दिएका छन् । मुख्यमन्त्री शाहले भने बर्खास्त गर्दा राम्रो सन्देश नजाने भएकाले राजीनामा दिन सुझाएको एक स्रोतले बतायो ।

