काठमाडौं, असार १४ ।
नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले सरकारले आगामी आर्थिक वर्षको बजेटमा प्रस्ताव गरेका केही कर प्रावधानहरू उद्योग, व्यवसाय र रोजगारीमा प्रतिकूल असर पार्ने खालका रहेको भन्दै गम्भीर आपत्ति जनाएका छन्।
शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद महतले वायर रडमा लगाइएको कर ५ प्रतिशतबाट १० प्रतिशत पुर्याइएकोप्रति आपत्ति जनाउँदै त्यसले औद्योगिक क्षेत्र कमजोर बनाउने र रोजगारीको अवसर घटाउने खतरा रहेको बताए।
सुनचाँदीका गरगहनामा लगाइएको विलासी कर खारेज गर्न माग गर्दै सांसद महतले सुनलाई विलासी वस्तुको श्रेणीमा नराख्नुपर्ने धारणा व्यक्त गरे। “सुन नेपाली जनजीवन, संस्कार र परम्परासँग जोडिएको विषय हो, यसलाई विलासी वस्तु भनेर कर लगाउनु उपयुक्त हुँदैन,” उनले भने।
यस्तै, उनले सुन आयातमा लागू गरिएको कोटा प्रणाली हटाउन र सुन आयात खुला गर्नुपर्नेमा पनि जोड दिए। उनले भनाइमा, खुला आयातले कालोबजारी नियन्त्रण हुनेछ र बजारमा स्थायित्व आउनेछ।
डा. महतले आयुर्वेदिक औषधिमा प्रस्ताव गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) पनि पुनःविचार गर्न जरुरी रहेको बताए। “स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित वस्तुहरूमा कर लगाउँदा आम उपभोक्तामा नकारात्मक असर पर्न सक्छ,” उनले चेतावनी दिए।
जलविद्युत् आयोजनाजस्ता पूर्वाधार विकासका लागि आयात गरिने सामग्रीमा १ प्रतिशत मात्र कर लगाइए पनि त्यसबाट पर्याप्त राजस्व संकलन हुन नसक्ने भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।
उनले भने, “राजस्व वृद्धि गरौं भन्ने चाहना राम्रो हो, तर त्यसका लागि उत्पादन र रोजगारी बढाउने नीति आवश्यक छ, नकि उद्योग क्षेत्रमै बाधा पुग्ने खालका कर प्रावधान।”
डा. महतले समग्र बजेट नीति पुनः सन्तुलित बनाउन सुझाव दिँदै, आर्थिक वृद्धिका लागि अनुकूल वातावरण सिर्जना गर्न सरकारले व्यवसायमैत्री दृष्टिकोण लिनुपर्नेमा जोड दिए।

