काठमाडौँ, असार १४
प्रधानमन्त्री केपी शर्मा ओली आज ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन (एफएफडि–४)’ मा सहभागी हुन स्पेन प्रस्थान गर्दै हुनुहुन्छ। सेभिल्ला सहरमा हुने उक्त सम्मेलन संयुक्त राष्ट्रसङ्घको आयोजना तथा महासचिव एन्टोनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा सम्पन्न हुँदैछ।
उक्त उच्चस्तरीय सम्मेलनमा विश्वका सरकार प्रमुख, क्षेत्रीय तथा अन्तरराष्ट्रिय संस्था, वित्तीय तथा व्यापारिक क्षेत्रका प्रतिनिधिहरू, व्यवसायी, नागरिक समाजका अगुवा तथा संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित निकाय सहभागी हुनेछन्। सम्मेलनमा नेपालले विशेषगरी अल्पविकसित, साना तथा टापु राष्ट्रहरूको तर्फबाट आवाज बुलन्द गर्नेछ। साथै, सम्पन्न राष्ट्रहरूले गरेका लगानी प्रतिबद्धताको कार्यान्वयनबारे गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ। साथै, भ्रमणको क्रममा उहाँले स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट तथा समकक्षी प्रधानमन्त्री सान्चेजसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री ओलीले विभिन्न देशका राष्ट्रप्रमुख एवं सरकार प्रमुखहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यो भ्रमणले नेपालका पक्षमा अन्तरराष्ट्रिय समर्थन सुदृढ गर्न, विकासका लागि आवश्यक वित्त सुनिश्चित गर्न तथा अन्तरराष्ट्रिय कूटनीतिक सम्बन्ध थप मजबुत बनाउने विश्वास गरिएको छ।

