काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम जारी रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला १५ सय रुपैयाँ घटेर तीन लाख ४ सय रुपैयाँ कायम भएको छ।
गएको सोमबारदेखि सुनको मूल्य लगातार ओरालो लाग्दै आएको छ। सोमबार तोलामा तीन हजार रुपैयाँ घटेको सुन मंगलबार थप नौ सय रुपैयाँले घटेको थियो। त्यसअघि बिहीबार र शुक्रबार पनि सुनको भाउ घटेको थियो। आइतबार भने सुन तोलामा २३ सय रुपैयाँले बढेको थियो।
यसअघि माघ १५ गते सुनको भाउ एकैदिन २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो, जुन नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो।
चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला पाँच रुपैयाँ घटेर चार हजार ८ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
माघ १८ गते चाँदीको भाउ एकैदिन एक हजार पाँचसय ६५ रुपैयाँ घटेको थियो, जुन हालसम्मकै ठूलो गिरावट हो। त्यसअघि माघ १५ गते चाँदीको भाउ सात हजार ५ सय ५ रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य मानिन्छ।

