काठमाण्डौ । बनेपा नगरपालिका–७ चाँदनी चोकमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउने स्कुटर चालकको सनाखत भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मृत्यु हुने व्यक्ति धुलिखेल नगरपालिका–८ घर भई हाल धुलिखेल–५ बस्दै आएका अन्दाजी ३१ वर्षीय ओमन प्रधान रहेका छन्।
दुर्घटनामा संलग्न टिपर चालक सिन्धुपालचोकको इन्द्रावती गाउँपालिका–६ निवासी ३२ वर्षीय दीपक रोक्कालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
बुधबार बिहान करिब सवा ८ बजे चाँदनी चोकमा बा.प्र.०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई बा.प्र.०१–००४ क ३४२३ नम्बरको टिपरले ठक्कर दिँदा प्रधानको घटनास्थलमै मृत्यु भएको थियो। प्रारम्भमा सनाखत हुन नसकेको मृतकको पहिचान सवारी चालक अनुमतिपत्रको आधारमा पुष्टि गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टले जानकारी दिए।
मृतकको शव बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको छ।
दुर्घटनापछि आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेका थिए, जसका कारण केही समय क्षेत्र तनावग्रस्त बनेको थियो। स्थानीयको विरोधका कारण अरनिको राजमार्गमा यातायात अवरुद्ध भएको थियो।
आगजनी भएको टिपर सडकबाट हटाइएपछि यातायात पुनः सुचारु भएको प्रहरीले जनाएको छ।

